सडक ग्राभेलको योजनामा १० लाख भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सिम्रौनगढ नगरपालिका-९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख ८ हजार ९६५ रुपैयाँ भुक्तानी गरेको अख्तियारको दाबी छ ।
उक्त मुद्दामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।
अख्तियारले उनीहरुसँग १० लाख ८ हजार ९६५ रुपैयाँ बिगो माग गरेको छ ।
त्यस्तै अख्तियारले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।