Share Icon

काठमाडौं । बसुन्धरास्थित ग्रिन सिटी अस्पतालको फार्मेसीले म्याद गुज्रेको (डेट एक्सपायर) औषधी विक्री गर्ने गरेको रहस्य खुलेको छ । फोक्सोमा पानी जमेका कारण उपचारका लागि गत आइतबार अस्पताल पुगेका गोरखाका ६२ बर्षीय लोकनाथ भट्टको सोमबार दिउँसो मृत्यु भएपछि उक्त रहस्य खुलेको हो ।

बिरामीको मृत्युको विषयलाई लिएर सोमबार दिउसो आफन्तले फार्मेसी समेत तोडफोड गरेका थिए । भट्टको मृत्युपछि बाँकी बचेका औषधी फिर्ता गर्न जाँदा फार्मेसीले म्याद सकिएको औषधि फिर्ता नहुने बताएपछि आफन्त आक्रोशित बनेका थिए ।

म्याद गुज्रेको औषधी दिएका कारण भट्टको मृत्यु भएको भन्दै आफन्तले अस्पतलमा आन्दोलन गर्नुका साथै फर्मेसीमा तोडफोड गरेका थिए । पछि अस्पतालले उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति जनाएपछि दुबै पक्षबीच सहमति भएको थियो ।

मृतकका एक आफन्तले भने–‘हिजो दिँउसो अस्पतालले मृत्यु भएको जानकारी दियो । हामीले बाँकी रहेको औषधि फिर्ता गर्न फार्मेसीमा जाँदा म्याद सकिएको भन्दै फिर्ता लिन मानेन ।’ त्यसपछिमात्रै हामीलाई थाहा भयो कि फार्मेसीले म्याद सकिएको औषधी पो दिएको रहेछ । यसरी कसैको ज्यानमाथि खेलबाड गर्न पाइन्छ ?’

मृतकका आफन्तले फार्मेसीमा तोडफोड हुन थालेपछि नजिकै रहेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । हाल प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ भने अस्पतालको फार्मेसी बन्द गरिएको छ ।

सोमबार बेलुका नै अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौता भएपछि भट्टको अन्तिम संस्कार भइसकेको छ । उपचारमा गर्दा लागेको साढे दुई लाख रुपैयाँ छुट र थप १० लाख क्षर्तिपूर्तिसहित सम्झौता भएपछि मृतकको अन्तिम संस्कार भएको आफन्तले बताएका छन् ।

यस बारेमा औषधि व्यवस्था विभागले पनि छानविन अगाडि बढाएको छ । यद्यपी अस्पताल प्रशासनले भने मृतकलाई दिएको औषधिमा समस्या नदेखिएको दावी गर्दै आएको छ । तर, फार्मेसीमा फिर्ता गरिएको औषधिमा भने म्याद सकिएको भेटिएको अस्पताल व्यवस्थापक मनिष दवाडीले स्वीकार गरेका छन् ।

Facebook Comments Box

Share Icon