Share Icon

२९ वैशाख, झापा । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिण–पूर्वमा बङ्गलादेशको सीमानाका बङ्गलाबन्ध रहेको छ । पच्चीस वर्षअघि नेपाल र बङ्गलादेशले भारतको फूलबारी नाका हुँदै काँकडभिट्टालाई बङ्गलाबन्धसँग पारवहन मार्गले जोड्ने ऐतिहासिक सम्झौता गरेको थियो । यसलाई नेपाल बङ्गलादेश पारवहन मार्गको रुपमा चिनिन्छ ।

भूगोलका हिसाबले नेपालभन्दा सानो बङ्गलादेशको जनसङ्ख्या भने नेपालको भन्दा चार गुणा ठूलो छ । बङ्गलादेशको अथाह बजारलाई भौगोलिकरुपमा नजिक भएर पनि नेपालले आफ्नो अनुकूल बनाउन सकेको छैन ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र खड्का नेपालसँग व्यापार सहजीकरणका लागि बङ्गलादेश निकै अग्रसर रहेको आफूले अनुभूति गरेको बताउनुहुन्छ । “पच्चिस वर्षे व्यापार अवधिमा घाटा धेरै भयो होला”, नेपाल अदुवा उत्पादक सङ्घका संस्थापक अध्यक्षसमेत रहनुभएका खड्का भन्नुहुन्छ, “नेपालबाट बङ्गलादेशमा सजिलै बजार पाउन सक्ने थुप्रै उत्पादन हामीसँग छन् । नेपालले त्यसको सही पहिचान गरेर निर्यातलाई प्रोत्साहित गर्ने ठोस कार्यक्रम ल्याउन सक्नुपर्छ ।”

बङ्गलादेशमा नेपालको कृषि उत्पादनमध्ये अदुवा, अलैँची र अम्रिसोको ठूलो सम्भाव्यता छ । बङ्गलादेशका व्यवसायी नेपाली उत्पादन आओस् भन्ने पक्षमा रहे तापनि तेस्र्रो मुलुकसम्म सामान लैजान नसकिएको खड्का बताउनुहुन्छ ।

नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन पारवहन मार्गमार्फत विगत २५ वर्षमा दुवै देशले व्यापारिक सहकार्यको अनुपम अनुभव हासिल गरेको बताउनुहुन्छ । “यस अवधिमा के कस्ता सामान आयात र निर्यात भयो, त्यसमा बजारको प्रतिक्रिया कस्तो रह्यो भन्ने विषयमा अब समीक्षा जरुरी छ”, बङ्गलादेशसँगको व्यापार प्रवद्र्धनमा निजी क्षेत्रबाट ठूलो योगदान पु¥याउनुभएको जैनले भन्नुभयो, “काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गलाई अझ सुविधाजनक बनाउँदै व्यापारलाई दुवै देशका लागि लाभदायी बनाउन सरकार र निजी क्षेत्रले ध्यान दिन आवश्यक छ ।”

उहाँका अनुसार नेपालको अलैँची, अदुवा, सुन्तला, जडीबुटी, चियालगायतका कृषि वस्तुको बङ्गलादेश निर्यातको अथाह सम्भावना छ । अझ नेपालको ढुङ्गा र गिट्टीसमेत बङ्गलादेश निर्यात गर्न सकिने अवसर छ । हालसम्म बङ्गलादेशले भारत र भुटानबाट ढुङ्गा र गिटी आयात गर्दै आएको छ ।

Facebook Comments Box

Share Icon