Share Icon

८ वैशाख,बलेवा । सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् ।

सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन उनीहरुले माग गरेका हुन् । मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै प्रशासन र प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् ।

आफूहरु विकास विरोध नभएको र आफ्ना माग सम्बोधनका लागि सर्वाेच्च अदालतमा मुद्दा चलिरहेकाले फैसला नआएसम्म काम गर्न नहुने मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिका संयोजक केवी रानामगरले बताउनुभयो ।

रामरेखा क्षेत्रका प्रभावित ८९ पीडितले २०७६ चैतमा सर्वोच्च अदालतमा मुद्दा दिएकाले जनताको नैसर्गिक अधिकार र कानुनको बर्खिलाप हुने गरी काम नगर्न नगराउन निवेदन दिएको उहाँले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङले बाङ्गेचौरदेखि बागलुङ–१ को कार्यालयसम्म सडक साँघुरो र दुर्घटनाको दृष्टिकोणले जोखिमयुक्त रहेकाले मर्मत गर्न लागिएको जनाएको छ ।

सडकको विशेष मर्मत कार्यका लागि टेवा पर्खाल तथा नाली निर्माणका लागि अतिआवश्यक भएकाले बाङ्गेचौरदेखि बागलुङ नगरपालिका–१ को कार्यालयसम्म मात्र सडक मर्मत गर्न लागिएको डिभिजनको स्पष्ट पारेको छ ।

 

Facebook Comments Box

Share Icon