Share Icon

८ वैशाख,दोधारा चाँदनी । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक-शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् ।

जिल्लाको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने राष्ट्रिय अभियान साकार पार्न विद्यालयका शिक्षकहरु घरदैलो अभियानमा लागेको बताउनुभयो ।

“हामी विद्यालयको विद्यार्थीको सङ्ख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो, “निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौँ ।” उहाँले कक्षा ८ सम्म आफ्नो विद्यालयमा गत वर्ष एक सय ६० विद्यार्थी रहेको बताउनुभयो ।

उहाँले यस वर्ष दुई सय २० विद्यार्थी भर्ना गर्ने लक्ष्यअनुसार घरदैलो अभियानमा लागेको जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका केही सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यम अपनाएर विद्यार्र्थी आकर्षित गर्न थालेका छन् ।

अभिभावक तथा विद्यार्थीहरुमा बोर्डिङ स्कुलको आकर्षण रहेका बेला सामुदायिक विद्यालयहरुले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने सुरु गरेर विद्यार्थी आकर्षित गर्न थालेका छन् ।

सामुदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलको जस्तै गुणस्तरीय शिक्षा दिनका लागि सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन थालेको भृकुटी माविका शिक्षिका बिमला भट्टले जानकारी दिनुभयो ।

“सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोसाक र झोलासमेत उपलब्ध गराउँदैछौँ”, उहाँले भन्नुभयो, “हामीले विद्यालयको गुणस्तर वृद्धि गरेर तल्लो कक्षामा अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छाँै ।” उहाँले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताउनुभयो ।

यहाँको महेन्द्रनगर माविले पनि यसै शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यस वर्षदेखि अङ्ग्रजी माध्यमबाट पनि कक्षा सुरु गरिन लागेको बताउनुभयो ।

“हामीले नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाइ गर्ने भएका छौँ”, जोशीले भन्नुभयो, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।” उहाँले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक शिक्षिकाहरु विद्यार्थी भर्ना अभियानमा जुटेको बताउनुभयो ।

कञ्चनपुरमा दुई सय ५९ सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon