दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक
३ वैशाख ,खलङ्गा । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् ।
धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उहाँले बताउनुभयो । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ ।
“यस वर्ष समयमै पाठ्यपुस्तक पुग्दा खुशी छाँै, यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो”, अपिहिमाल गाउँपालिकास्थित खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक बोहराले भन्नुभयो ।
मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा वैशाख २ गते नै पाठ्यपुस्तक पठाइएको इकाइ प्रमुख पन्तले बताउनुभयो ।
त्यस्तै दुँहु र ब्याँस गाउँपालिकाका लागि पनि पाठ्यपुस्तक जिल्ला सदरमुकाम खलङ्गास्थित न्यु चौलानी पुस्तक पसल र ज्ञानजोती पुस्तक पसलबाट ढुवानी भइसकेको न्यु चौलानी पुस्तक पसलका सञ्चालक मनोहर डाँगाले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिकामा पनि पाठ्यपुस्तक विद्यालयमा पठाउन थालिएको छ । नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा आइतबारदेखि पाठ्यपुस्तक पठाउन सुरु गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनुभयो । गत वर्ष विद्यार्थीले पुस्तकबिना परीक्षा दिएका थिए ।
यस वर्ष सरकारले भर्नासँगै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने व्यवस्था गरेकामा खुशी लागेको शैल्यशिखर नगरपालिका–६ का अभिभावक मदन धामीले बताउनुभयो ।
नौ स्थानीय तह रहेको दार्चुलामा अपि हिमाल, दुँहु र ब्यास गाउँपालिका बाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकोले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन । यातायातको समस्या रहेका तीन गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगिसकेको इकाइ प्रमुख पन्तले बताउनुभयो । विगत वर्षमा वार्षिक परीक्षा सकिदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुशि भएका छन् । यही वैशाख ३ देखि ८ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको शन्तले जानकारी दिनुभयो ।
केही दिन अघि शिक्षा विकास तथा समन्वय इकाइमा बसेको विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले जिल्लामा वैशाख पहिलो हप्तासम्म पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिएको थियो ।