‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन
२५ वैशाख, सुदूरपश्चिम । आफ्नो तरकारी बारीमा पुग्ने विद्यार्थी र किसान समूहका जिज्ञासा मेटाउन व्यस्त हुने रामकिसुन चौधरीलाई किसान अचेल ‘प्लान्ट डाक्टर’को नामले चिन्न थालेका छन् ।
मौसमी तथा बेमौसमी तरकारी बालीको उत्पादन, बालीमा देखिने रोगकीराको समाधान खोज्नमा अनुभवी मानिनु भएकाले उहाँ ‘प्लान्ट डाक्टर’ले चिनिनु भएको हो ।
तरकारी बारीमा स्थलगत अध्ययन गर्न दुई दिनअघि मात्रै आएको कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीको टोलीले उहाँबाट तरकारी उत्पादन, रोगकीराको समाधान, जैविक मलको आवश्यकता र महत्वलगायतका विषयमा जानकारी लिएर फर्किएको छ । उहाँ गड््यौला र यसको मल पनि उत्पादन गर्नुहुन्छ । किसान समूह सहकारीले सञ्चालन गर्ने किसान पाठशालामा प्रशिक्षकको भूमिका पनि निभाउनुहुन्छ ।
किसानको जिज्ञासा मेटाउन पाउँदा आफूलाई जिम्मेवारीको बोधको अनुभव हुने उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सबैले प्लान्ट डाक्टरभन्दा खुसीसँगै थप जिम्मेवारी बोध भएको महसुस हुन्छ, तरकारी खेतीका लागि चाहिने बेर्ना र तरकारी उत्पादन गरेर बिक्री गर्दा किसान खुसी नै छन् ।”
उहाँ आफ्नै तरकारीबारी परिसरमा गड््यौला मलको उत्पादन गरी माटोको उर्वराशक्ति बढाउन र अग्र्यानिक ९जैविक० खेतीका लागि उत्प्रेरकको भूमिकासमेत निर्वाह गरिरहनुभएको छ ।
बोलीचालीमा उहाँलाई सम्मान गर्न प्लान्ट डाक्टर भन्ने गरिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।
“कुनै सरकारी निकायबाट प्रमाणपत्र पाएर उहाँलाई प्लान्ट डाक्टर भनिएको होइन,” शर्माले भन्नुभयो, “उहाँ जेटि, जेटिएसम्बन्धी काम गर्ने, तरकारी र बेर्ना उत्पादन गर्ने, किसानस्तरको प्रशिक्षण दिनमा अनुभवी हुनुहुन्छ ।”
वार्षिक प्रतिकठ्ठा रु तीन हजारका दरले जग्गा भाडामा लिएर उहाँले धनगढी उपमहानगरपालिका(५ मा चार बिघा जग्गामा बेर्ना र तरकारी खेती गरिरहनुभएको छ ।
यो वर्ष उहाँको तरकारी बारीमा पटक(पटक स्थलगत रुपमा अध्ययन अवलोकन गर्न सुदूरपश्चिमका जिल्लाका तीन ÷चार समूहमा गरी ७० विद्यार्थी आइपुगेका छन् । “उहाँलाई कृषिमा गरेको मेहनत र लगनशीलताले अहिले समाजले ‘प्लान्ट डक्टर’बनाइदिएको हो”, स्थानीय माया भट्टले भन्नुभयो, “तरकारी उत्पादनले टोलमा ताजा तरकारी पाउन पनि सहज भएको छ ।”
विगतमा जीविका चलाउनकै लागि एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीमा काम गर्नु भएका उहाँलाई कृषि निर्देशनालय दीपायलबाट मौसमी र बेमौसमी तरकारी खेतीतर्फ भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट छनोट भई पुरस्कृत हुनुभएको छ ।
“भीमदत्त उत्कृष्ट किसान पुरस्कार पाउँदा पनि खुसी छु यसले हौसला पनि मिलेको छ”, रामकिसुनले भन्नुभयो, “आर्थिक अवस्था कमजोर हुँदा पाएको दुःख कष्टले आफूलाई प्रगति गर्न सिकाएको अनुभव भइरहेको छ ।”
भीमदत्त उत्कृष्ट पुरस्कारका लागि छनोट हुनुभएका घोडाघोडी नगरपालिकाका पहलमान देउवा भने बैंकबाट लिएको ऋणको ब्याज बुझाउन ताकेता गरेको सूचना पाएपछि तनावमा हुनुहुन्थ्यो ।
“आफू पुरस्कृत भइरहँदा ऋण समयमै नतिरेको भन्दै बैंकले आजै ३५ दिने सूचना निकालेको छ”, धनगढीमा हालै आयोजित समारोहमा पुरस्कार ग्रहण गर्दै देउवाले भन्नुभयो, “किसानले जतिसुकै मेहनत गरेपनि कृषि विकासका लागि बनेको नीति किसानमैत्री बन्न सकेका छैनन् ।”
देउवालाई कुखुरापालन तथा बहुउदेश्यीय कृषि विधातर्फ भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको हो । लम्कीचुहा नगरपालिकाका खडक महतलाई माछापालन विधातर्फ यो पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
किसानको हौलसा बढाउन र कृषि पेसाको सम्मान गर्ने उद्देश्यले प्रदेश सरकारले प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई गत वर्षदेखि भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गर्ने नीति लिएको हो । यो नीति अनुसार सुदूरपश्चिमका कैलाली सहितका सबै जिल्लाबाट गरी २७ किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
पुरस्कृत हुने २७ किसानमध्येबाट चार जना उत्कृष्ट किसानको छनोट गर्न लागिएको छ । छनोट हुने चार किसानमध्येबाट सर्वोत्कृष्ट किसान छनोट हुने एक किसानलाई रु एक लाख ५० हजार र बाँकी तीनलाई रु ७५ हजारको भीमदत्त उत्कृष्ट किसान छनोट गरी पुरस्कार प्रदान गर्न लागिएको छ ।