Share Icon

२८ चैत,रोल्पा । रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष २०७८-७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन बाँकी थियो ।

लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिए पनि सङ्घीय सरकारले रु एक करोड ५७ लाख नौ हजार दिन बाँकी रहेको कृषक बताउँछन् । “चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनौँ”, आन्दोलनरत कृषक त्रिपनी वैजाली मगरले बताउनुभयो ।

कृषकले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत १२ ब्लकको र छ प्राङ्गारिक प्रवद्र्धन कार्यक्रमको रकम पाउन बाँकी छ । कृषकको रकम भुक्तानीका लागि आफूहरू सबै निकायमा पुगेको तर भुक्तानी प्रक्रियामा उदासिनता देखाउँदा आन्दोलन गर्न बाध्य भएको उहाँको भनाइ छ ।

“सङ्घीय सरकारको कृषि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री आधुनिक कृषि परियोजनालगायतका विभिन्न निकायमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन”, उहाँले भन्नुभयो ।

आफूहरूको मागप्रति राजनीतिक दल पनि उदासिन रहेको कृषकको गुनासो छ । कृषि ज्ञान केन्द्रमा लामो समयदेखि कार्यालय प्रमुख छैनन् । तत्कालीन कार्यालय प्रमुख राहुल पाण्डे सरुवा भएपछि आएका अरविन्दमणि त्रिपाठीसमेत कार्यालयमा अनुपस्थित भएपछि कार्यालय प्रमुखविहीन बनेको हो ।

Facebook Comments Box

Share Icon