‘तारा खेल’ प्रवर्द्धन गर्दै गाउँपालिका

Share Icon

२६ चैत,ढोरपाटन । धौलागिरि क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडि नै लोप हुने अवस्थामा पुगेको थियो ।

पछिल्लो समय आधुनिक शैलीबाट खेल्न थालिएपछि गाउँगाउँमा प्रतियोगितासमेत हुन थालेका छन् । तारा खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएपछि बागलुङको तमानखोला गाउँपालिकाले यस खेललाई ‘पालिका खेल’ घोषणा गरेर प्रवर्द्धन गरिरहेको छ ।

विषेशगरी आदिवासी जनजाति समुदायमा प्रचलित तारा खेल अहिले सबै समुदायका युवा खेल्न थालेका छन् । विभिन्न मेला, महोत्सव र चाडपर्वमा आयोजना हुने तारा खेल अहिले युवा समय बिताउन र मनोरञ्जनाका लागि खेल्न थालेका छन् ।

निशानामा आधारित तारा हान्ने खेल बागलुङका गाउँदेखि बजारसम्म खेलिन थालेको छ । पहिले यो खेल बढी गाउँमा खेलिन्थ्यो । जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा यो खेल अझ बढी प्रचलित छ ।

रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, त्यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ ।

त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीबाट बाणबाट तारोले बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । तारा खेल अङ्कका आधारमा खेलिने खेलाडी बताउँछन् ।

दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बागलुङका पुराना खेलाडी पृतराम छन्त्यालले बताउनुभयो । यो खेल पुर्खौंदेखि खेलिँदै आएको उहाँको भनाइ छ ।

छन्त्याल भन्नुहुन्छ, “तारा खेल ढुङ्गेयुगदेखि सुरु भएको पाइन्छ, त्यस बेलाका मान्छेले जीविकोपार्जनका लागि वन्यजन्तुको सिकार गर्थे रे, सिकार गर्दा धनुष वाणको प्रयोग हुन्थ्यो रे, अहिले तारा खेल पनि सिकारीले जङ्गली जनावरलाई निशाना बनाए जसरी ताकेर तिर हानिन्छ, जसले निशानामा हान्छ उसैले खेल जित्छ, अहिले पनि यो खेललाई युवाले संरक्षण गरेका छन्, युवाले बेलाबेलामा ठूलो प्रतियोगिता राख्छन् ।”

पाँच जनाको समूहमा खेलिने उक्त खेलमा सहभागीमध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टोली घोषणा गिरिने गरिन्छ ।

तारा खेल अन्तर्राष्ट्रियस्तरमा पनि खेल्ने गरिन्छ । खासगरी यो खेललाई आर्चरी खेल भन्ने गरिन्छ । साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको अर्का खेलाडी प्रेमबहादुर घर्तीमगरले बताउनुभयो । उहाँ स्थानीयस्तरमा सीमित भएका यस्ता खेलको प्रवद्र्धन गर्नुपर्ने बताउनुहुन्छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले यहाँ आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको हुँदा परम्परादेखि नै तारा खेल खेल्दै आएको बताउनुभयो ।

तमानखोलामा बढी प्रचलित रहेको हुँदा तारा खेललाई गाउँपालिकाले विसं २०७७ मा ‘पालिका खेल’ घोषणा गरेर हरेक वर्ष ‘तमानखोला तारा खेल कप’ प्रतियोगिता आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

“तारा खेल संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो हो भन्ने ठानेर केही वर्षदेखि निरन्तर प्रतियोगिताको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि गरिसकेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पालिका खेलका रुपमा राखेका छौँ, यसले खेल क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने छ, यो खेल आदिवासी जनजातिको पहिचानसँग जोडिएको छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.