डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता

Share Icon

१२ चैत,महेन्द्रनगर । कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् ।

एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको छ । “यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन”, कुण्डा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिनेशकुमार यादवले भन्नुभयो, “एक सातायता बाघ देखिन थालेपछि सो क्षेत्रका सामुदायिक वनका उपभोक्तालाई कर्मचारी खटाएर सचेत रहन भनिरहेका छौँं ।” मोहना–लालझाडी करिडोर भारतको दूधुवा नेशनल पार्क र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितसमेत जोडिएको छ ।

“पुनर्वास नगरपालिका– १० र ११ बाट भारतको दूधुवासित जोडिएको छ भने बेलौरी नगरपालिकाको रामपुर गाउँहुदै करिडोर शुक्लाफाँटासित जोडिएको छ ।” सहायक वन अधिकृत यादवले भन्नुभयो, “करिडोरमा पनि संरक्षण र वासस्थानको अवस्था राम्रो भएकाले पछिल्लो समय बाघ लगायतका वन्यजन्तु बढिरहेका छन् ।” दुई दिनअघि पुनर्वास नगरपालिका–१० का ३२ वर्षीया कलसा सार्कीको दूधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट निधन भएपछि सो क्षेत्रमा भारतीय वन तथा सुरक्षाकर्मीले पनि सक्रियता बढाएका छन् ।

“ मानिस आक्रमण गर्ने बाघ नै यहाँ दिनहुँ देखिन थालेको हो की भन्ने आशङ्का छ”, यादवले रासससित भन्नुभयो, “सोही अनुसार भारतीय वनकर्मीसित पनि समन्वय गरिरहेका छौँ ।” उहाँले शुक्लाफाँटा र दूधुवा नेशनल पार्कमा बाघको सङ्ख्या बढेकाले करिडोरमा पसेको हुनसक्ने बताउनुभयो । उहाँले करिडोर वरपर सचेतना अपनाउन सामाजिक सञ्जालको उपयोग गरिएको जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.