राजापुरका विद्यालयमा मनोरञ्जन पार्क निर्माण हुँदै

Share Icon

सागर परियार
राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ मा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाल उद्यान निर्माण हुने भएको छ।

नगरपालिका अन्तर्गत रहेको श्री किसान मावि खल्लाजयपुर बर्दियामा पूर्व प्राथमिक, प्राथमिक तहका बालबालिकाहरुको सिकाइ रुचिपूर्ण बनाउन विद्यालयमा मनोरञ्जन पार्क निर्माण हुने भएको हो ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रममा बाल उद्यान र ४ कोठे भवनको एक साथ शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख दिपेश थारुले आफुले नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि पहिलो प्राथमिकता दिने गरेको बताउनु भयो । एक पक्षको मात्रै लगानीले समग्र शिक्षा क्षेत्रको विकास हुन नसक्ने भएकाले स्थानीय सरकार, अभिभावक, शिक्षक र विद्यार्थीहरु सहित सरोकारवाला सबै पक्ष एकजुट हुनु पर्ने धारणा राख्नु भयो ।

वडा नं. ५ का वडाध्यक्ष तथा नगरपालिकाका सामाजिक विकास संयोजक रमेश दहितले आफूहरु जनप्रतिनिधि भएर आए पछि शैक्षिक क्षेत्रको विकासमा अन्य क्षेत्रभन्दा बढी नै ध्यान दिएको बताउनु भयो । नगरपालिकाले जसरी संरचना निर्माणमा पहल गरेको छ त्यसै गरी विद्यालयहरुले पनि शिक्षाको गुणस्तर र नतिजा सुधार गर्न समग्र विद्यालय परिवार लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा छोटो मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेलुराम चौधरीले विद्यालयको विकासमा स्थानीय सरकारको पहल र योगदान महत्वपूर्ण हुने र शैक्षिक क्षेत्रको नतिजा लामो समय पछि देखिने भएकाले विव्यस, शिक्षक अभिभावक संघ र समग्र शिक्षकहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लागि परेको बताउनु भयो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुने बाल उद्यानको लागत ७ लाख र ४ कोठे भवन ४५ लाख लागतमा निर्माण हुने भएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.