प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ
८ चैत,पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।
जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक हालसम्म अधुरै छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघिसक्दासमेत पनि कामले निरन्तरता पाउन सकेको छैन ।
सडक कालोपत्रको शिलान्यासपछि केही काम भए पनि विगत दुई वर्षदेखि ठेकेदार कम्पनीको रूपमा रहेको हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्कविहीन बनेको छ ।
कम्पनीले २०७६ मङ्सिरमा रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको जिम्मा लिएको थियो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मङ्सिरमा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
म्याद थप गरेर आगामी असारसम्मको सम्झौता कायम गरिए पनि अहिलेसम्म काम सुरु नभएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
“अहिलेसम्म काम गर्ने सुरसार नै छैन”, स्थानीय राजु आचार्यले भन्नुभयो, “निर्माण व्यवसायीलाई सम्पर्कमै ल्याउन सकिएको छैन ।
काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।”गाउँपालिका अध्यक्ष राजु आचार्यले पालिकाले पटक–पटक आग्रह गर्दासमेत सम्पर्कमा नआएको बताउनुभयो । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिराको जोखिम बढेको छ ।