स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत
१५ फागुन,रामपुर (पाल्पा) । आधारभुत स्वास्थ्य सेवा गाउँघरकै स्वास्थ्य संस्थामै हुने भए पनि छाती र पेट दुख्ने समस्याले ६० वर्षीय हुमकला कामी राम्रो उपचारको अभावमा ग्रस्त हुनुहुन्छ ।
आर्थिक अभावका कारण उहाँले निजी अस्पतालमा गएर उपचार गराउन सक्नुभएको थिएन । हाल रामपुरमा मुटु तथा मृगौलाका बिरामीलाई लक्ष्य गरी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाले उहाँलाई पनि यसबाट राहत मिलेको छ । शिविरमा आफ्ना रोगको उपचार गराउन पाउँदा हुमकला खुशी देखिनुहुन्छ ।
“छाती, पेटसम्बन्धी समस्याले बेला–बेलामा दुःख दिएको थियो, गाउँका स्वास्थ्य संस्थामा उपचार गरायो पटक्कै निको नहुने” हुमकला भन्नुहुन्छ, “बाहिरका अस्पतालमा गएर उपचार गर्न सक्ने क्षमता छैन,
हामीजस्ता रोगसँग लडेर बाँचेका बिरामीलाई गाउँमै शिविरमार्फत सेवा पाउँदा ठूलो राहत मिलेको छ” । उहाँले मुटु, पेट र छातीको परीक्षण गराई निःशुल्क औषधि समेत पाउनुभयो ।
आर्थिक अभावका कारण सहर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेकोमा हुमकला खुसी हुनुहुन्छ । शिविरमा उपचारसँगै निःशुल्क औषधि पनि पाएइपछि ज्येष्ठ नागरिक र महिलालाई सहज भएको उहाँ बताउनुहुन्छ ।
शिविरमा स्थानीयवासी दुर्गाप्रसाद श्रेष्ठ पनि गाउँमै विशेषज्ञसहितको सेवा पाएइएकाले अन्यत्र उपचार गर्न जाने समस्या टरेको बताउनुहुन्छ ।
चौरासी वर्षका उहाँले शिविरमा मुटु, मृगौला र रगत परीक्षण गराउनुभएको थियो । बुढेसकालमा गाउँमै उपचार पाउँदा दुर्गाप्रसाद पनि खुसी हुनुहुन्छ ।
“यहाँ मुटु तथा मृगौलाको परीक्षण नहुँदा ठूला शहरमा जानुपर्ने बाध्यता थियो । यसरी गाउँमा शिविर सञ्चालन गरी बिशेषज्ञ सेवा उपलब्ध भएकामा जेष्ठ नागरिकलाई धेरै राहत भयो ”, उहाँ भन्नुहुन्छ ।
रोटरी क्लव रामपुर, ज्योतिपुन्ज युवा क्लव, रोट्रायाक्ट क्लव अफ बुटवलको आयोजनामा मुटु तथा मृगौला रोगीलाई प्राथमिकता दिएर सञ्चालन गरिएको शिविरमा एक हजार २१० जनाले उपचार गराएका थिए ।
कालीगण्डकीवेशी, पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुरवासीले शिविरबाट स्वास्थ्य परीक्षण गराउनाका साथै निःशुल्क औषधि पनि पाएका थिए।
रामपुर नगरपालिकाको समन्वयमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, शहीद बहुमुखी क्याम्पसको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बिशेषज्ञसहित ६० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए । नगरप्रमुख रमणबहादुर थापा मुटु तथा मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरिएकाले स्वास्थ्योपचारमा स्थानीयवासीको चासो बढेको बताउनुहुन्छ ।
स्वास्थ्य परीक्षणका साथै रोग निदान हुने गरी उपचार गरिएकाले शिविर प्रभावकारी भएको उहाँको भनाइ छ । “पालिकाले बेला–बेलामा यस्ता शिविर सञ्चालन गर्दै आएकामा अहिले ज्येष्ठ नागरिक, बालबालिका तथा महिलालाई लक्ष्य गरी सो शिविर आयोजना गर्ने गरिएको हो”, नगरप्रमुख थापा जोड दिनुुहुन्छ ।
उक्त अस्पतालका अध्यक्ष एजाज अलाम स्वास्थ्यजस्तो संवेदनशील कुरामा बेवास्ता गर्दा घातक रोगको सिकार बन्नु परेकाले मुटु, मृगौलाजस्ता रोग समयमै पहिचान गरी उपचार गराउन सजग बनाउने उद्देश्यले अस्पतालले विभिन्न ठाउँमा शिविरमार्फत सेवा दिइरहेको बताउनुहुन्छ ।
शिविरमा स्वास्थ्य परीक्षण गराउने स्थानीयवासीको ठूलो भीड देखिन्थ्यो । रगत परीक्षण, ईसिजि, ईको, मुटु, मृगौलालगायत परीक्षणसहित औषधि पनि एउटै स्थानबाट पाएपछि उपचारका लागि अन्यत्र जाने झण्झटबाट मुक्त भएको सेवाग्राहीहरु बताउँछन् ।
शिविरमा सेवा पाउँदा बिरामी उत्साहित भएर लामबद्ध पालो पर्खेर बसेका थिए । सेवाग्राहीलाई समस्या नहोस् भनी आयोजकले स्वयम्सेवक परिचालन गरेकाले सेवा लिन निकै सहज भएको स्थाीयवासी अनिल भट्टराई बताउनुहुन्छ ।
बेला–बेलामा स्थानीयस्तरमा सञ्चालन हुने स्वास्थ्य शिविरबाट आर्थिक समस्या भएका, ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा विभिन्न पेशा, व्यावसायमा आवद्ध व्यक्तिले प्रत्यक्ष फाइदा लिनसक्ने रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।
यस्ता शिविरले स्थानीय नागरिकलाई उपचारमा सुविधा पुग्नाका साथै अकालमा ज्यान गुमाउनु पर्ने अवस्था केही हदसम्म भए पनि अन्त्य हुने स्थानीयवासी बताउँछन् ।
रामपुरमा मृगौलाको डायलायसिस प्रविधि नहुदा अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै यहाँ पनि डायलायसिस सेवा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।







