पोखराको हिमालय आँखा अस्पताल अब्बल

Share Icon

२ चैत,अन्नपूर्ण (कास्की) । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ ।

अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट अहिलेसम्म ३१ हजार सात सय ४२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले जानकारी दिनुभयो ।

सोही अवधिमा २१ लाख ६१ हजार पाँच सय ५७ जनाको आँखा परीक्षण गरेको डाइरेक्टर डा श्रेष्ठले बताउनुभयो । “यो अवधिमा विद्यालय आँखा जाँच कार्यक्रममा तीन लाख ९८ हजार सात सय २७ को आँखा जाँच गरिएको छ”,

उहाँले भन्नुभयो, “११ हजार तीन सय २७ लाई निःशुल्क चश्मा वितरण पनि गरियो ।” विभिन्न स्थानमा गरिएको आँखा जाँच शिविरबाट आठ लाख ३७ हजार एक सय ५० लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालले उत्कृष्ट सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीको आँखाको उपचार पोखरामा मै सम्भव भएको नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले बताउनुभयो ।

जसले गर्दा समय र पैसाको बचत भएको अध्यक्ष गुरुङले बताउनुभयो । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ ।

“अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ”, अध्यक्ष गुरुङ भन्नुहुन्छ ।

पछिल्ला समय अस्पतालमा नयाँ सुविधा बढेकाले पनि बिरामी सङ्ख्या बढेको छ । पुरानो सेवाबाहेक आँखाको रेटिनाको शल्यक्रिया, कन्ट्याक्ट लेन्स सुविधा, भिजन थेरापी नयाँ प्रविधि ल्याएपछि अस्पतालमा झनै बिरामीको सङ्ख्या बढेको डा श्रेष्ठले बताउनुभयो ।

अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको डा श्रेष्ठको दाबी छ ।

आगामी दिनमा नयाँ भवन बनाउने योजना रहेको डा श्रेष्ठले सुनाउनुभयो । “३० वर्ष अघि एक सय ५० जनालाई लक्षित गरी बनाइएको हो ।

अहिले त दैनिक छ सयभन्दा बढी बिरामी आउँछन्”, डा श्रेष्ठले भन्नुभयो, “हावाहुरी र पानी पर्दा बिरामीलाई साह्रै समस्या हुन्छ । त्यसैले नयाँ भवन बनाउने कि भनेर सोचिरहेका छौँ ।”

पोखरा पर्यटकीय क्षेत्र भएकाले आगामी दिनमा मेडिकल टुरिजमको अवधारणालाई अघि बढाउने योजना रहेको डा श्रेष्ठले बताउनुभयो ।

क्यान्सरको जटिल शल्यक्रिया, नाक, कान, घाँटी र नसासँग सम्बन्धित शल्यक्रिया र चश्मा लगाउन नपर्ने री हुने लेजर सर्जरीबाहेक अन्य सेवा अस्पतालबाट दिइरहेको उहाँको भनाइ थियो ।

हालसम्म कर्णाली र गण्डकीमा गरी २७ ठाउँमा आँखा उपचार केन्द्र छन् । तत्कालीन गण्डकी, धौलागिरि र कर्णाली अञ्चलमा यी सेवा केन्द्र रहेको अस्पतालका व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिनुभयो ।

अस्पतालमा बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलियालगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्टनसिप गर्न आउने गरेका छन् ।

उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कछन् । हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा निकै सस्तो शुल्कमा आँखासम्बन्धी पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीको रुचि पनि असाध्यै देखिएको व्यवस्थापक गर्बुजाले बताउनुभयो ।

तीन वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्समा ४० जनाले पढ्दै आएको उहाँले जानकारी दिनुभयो । पोखरा विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित चार वर्षे ब्याचलर अफ अप्टोमेट्रीमा १६ जना र दुई वर्षे मास्टर्स अफ अप्टोमेट्रीमा छ जना विद्यार्थी अध्यतरत छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.