कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती

Share Icon

१३ माघ,ढोरपाटन । बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ ।

कार्यालय स्थापना हुँदा एक खाद्य अनुसन्धान अधिकृत र दुई प्राविधिक सहायकको दरबन्दी स्वीकृत थियो । पाँच वर्षपछि मात्रै यहाँ दरबन्दी परिपूर्ति भएको छ । तर यो दरबन्दी तीन जिल्ला कार्यक्षेत्र भएको कार्यालयका लागि न्यून हो । डेढ महिना अघिसम्म एक अधिकृत र एक प्राविधिक सहायकको भरमा सञ्चालन भएको सो कार्यालयमा हाल तीन कर्मचारी छन् ।

एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठ बताउनुहुन्छ । “कर्मचारी न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको छ”, उहाँले भन्नुभयो । साविक धवलागिरि अञ्चलको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्ला यसको कार्यक्षेत्र हो ।

श्रेष्ठ भन्नुहुन्छ, “सबै ठाउँमा पुग्नुपर्छ, अनुगमन र अन्य कार्यक्रम गर्नुप¥र्यो, कार्यालयमा तीन जना छौँ, सबै जना फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, सेवाग्राहीलाई समस्या भएको छ ।”

भौगोलिक हिसाबले दुर्गम बागलुङ, म्याग्दी र मुस्ताङमा अनुगमन गर्न जटिल हुने गरेको श्रेष्ठको भनाइ छ । खाद्यवस्तुको गुणस्तर, बजार अनुगमन तथा अखाद्य वस्तुलाई बिक्री वितरणमा रोक्ने काम आफूहरूले गर्नुपर्ने हुँदा कर्मचारी थप हुन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

“थारै जनशक्ति हुँदा धेरै ठाउँमा पुग्न समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो । कर्मचारी कम हुँदा अनुज्ञापत्र जारी तथा नवीकरणमा समस्या भएको छ । प्रत्येक जिल्लामा कम्तीमा दुई कर्मचारी अनिवार्य भएको उहाँ बताउनुहुन्छ ।

मालपोतमा १२ दरबन्दी, चारजना मात्रै कार्यरत

मालपोत कार्यालय बुर्तिबाङमा पनि कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । बाह्र स्थायी कर्मचारी दरबन्दी रहे पनि हाल चार जनामात्रै कार्यरत छन् । मालपोत अधिकृत कार्यालय प्रमुख हुने व्यवस्था भए पनि सुब्बाका भरमा कार्यालय सञ्चालनमा छ ।

मालपोत एक अधिकृत, तीन नायब सुब्बा, तीन खरिदार, एक लेखापाल, एक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी रहेकामा हाल दुई नायब सुब्बा, एक कम्प्युटर अपरेट र एक लेखापाल मात्र कार्यरत छन् । नायब सुब्बा सूर्यप्रसाद शर्मा कार्यालय प्रमुख हुनुहुन्छ । यहाँ वर्षौँदेखि मालपोत अधिकृत पद रिक्त छ ।

कर्मचारी न्यून हुँदा सेवाग्राहीलाई चाहेर पनि छिटो सेवा प्रदान गर्न नसकेको शर्मा बताउनुहुन्छ । उहाँ एक वर्षदेखि यहाँ कार्यरत हुनुहुन्छ । दैनिक सयौँका सङ्ख्यामा सेवाग्राही आउने गरेको र उनीहरूलाई घण्टौँ लाइनमा कुराउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सम्बन्धित निकायमा पटक–पटक कर्मचारी पठाउन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको शर्मा बताउनुहुन्छ ।

निसीखोला–६ बाट घरजग्गा नामसारीका लागि मालपोत आउनुभएका भोजबहादुर घर्तीले दुई दिन कुर्दा पनि काम बन्न नसकेको गुनासो पोख्नुभयो । कामका लागि लाइनमा पालो कुर्दाकुर्दै घण्टौँ बित्ने तर साँझसम्म पनि काम बन्ने उहाँ बताउनुहुन्छ ।

घर्तीमगर भन्नुहुन्छ, “सरकारलाई सधैँ खुरुखुरु कर तिर्छौँ, सेवा लिन जाँदा दुई–तीन दिन लगाइदिने, हामीले सधैँ दुःखमात्रै पाउँछौँ, पहिले–पहिले बागलुङ पुग्दा उस्तै दुःख हुन्थ्यो, अहिले बुर्तिबाङबाट सेवा सुरु भएपछि केही राहत मिल्ला भनेको उस्तै छ ।” वन डिभिजन कार्यालय, मालपोत कार्यालय बागलुङलगायत जिल्लाका विभिन्न पालिकामा पर्याप्त जनशक्ति छैन । कर्मचारी तोकिएको कार्यक्षेत्रमा नजाँदा समस्या भएको हो ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.