डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी
३० पाैष,दिपायल । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् ।
सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेश बोहराले बताउनुभयो ।“जोरायलबाट मात्र यस वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको छ”, उहाँले भन्नुभयो ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । जिल्लामा गत आवमा २८५ हेक्टरमा दुई हजार पाँच सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष तीन सय १३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार मेट्रिकटन सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो ।
जेरायल गाउँपालिका–१ को निरौली, बडीकेदार गाउँपालिकाको पातल, मुडा, रजेडा, छेडा, टिमिट्ट लाना, खेतालीलगायतका स्थानमा सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ । बडीकेदार गाउँपालिका–१ पातलबाट करिब ५० लाख बराबरको सुन्तला बिक्री भएको समैजी कृषि समूहका अध्यक्ष टेकबहादुर क्षेडालले बताउनुभयो । यसपाली प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको छ ।
बडीकेदार–१ वडाध्यक्ष डबल बोहरा सुन्तलाखेती हुने गाउँ सडक सञ्जालसित जोडिएका बताउनुहुन्छ । “गत वर्षभन्दा सुन्तला उत्पादन बढेको छ, मूल्य पनि राम्रै पाइएको छ”, उहाँले भन्नुभयो । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखसम्म आम्दानी भएको बडीकेदार–४ का चक्र जेठराले बताउनुभयो । उहाँ १० वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिए पनि सुविधा पाउन नसकेको यहाँका कृषकले गुनासो गरेका छन् ।







