पाथीभरा मन्दिरमा एक महिनामै जम्मा भयो २४ लाख भेटी

Share Icon

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी रु २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको समितिले जनाएको छ।

माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात रु आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।

गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ। बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ।

बडादसैँपछि चैतेदसैँ (रामनवमी) का समयमा धेरै तीर्थयात्री यहाँ आउँने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन्।

पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको विर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ।

मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ। वर्षात्‌को समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ। पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.