म्यानमार पुर्‍याएर बन्धक बनाई चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाउने महिला पक्राउ

Share Icon

काठमाडाैं । थाइल्याण्डमा रोजगारीको प्रलोभन देखाएर झुक्यानमा पारी म्यानमार पुर्‍याएको तथा त्यहाँ बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरूङ छिन्।

प्रहरीका अनुसार पीडितलाई थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाइएको थियो। पीडितहरूलाई थाइल्याण्डस्थित कम्पनीमा अंग्रेजी टाइपिङको काममा मासिक एक हजार डलर कमाइ हुने तथा खाने, बस्ने व्यवस्थासमेत कम्पनीले नै गर्ने भनी प्रलोभन देखाएको पाइएको प्रहरीले जनाएको छ।

पीडितहरूलाई काठमाडौंस्थित आफ्नो घरमै बोलाई अंग्रेजीको टाइपिङ स्पिड चेक गरेको र उक्त परीक्षामा पास भएकालाई पैसाको जोहो गर्न लगाई प्रतिव्यक्ति २ लाख ६० हजार रूपैयाँ लिएर म्यानमार पठाएको अनुसन्धानले देखाएको छ।

सामाजिक सञ्जालबाट अमेरिकी, युरोपेली नागरिकलाई ट्र्यापमा पारेर बिट क्वाइनमा लगानी गर्न बाध्य बनाउनका लागि एक साताको तालिमसमेत दिएको पाइएको छ।

कम्पनीले तोकेअनुसारको टार्गेट पुर्‍याउन नसकेमा कुटपिट गर्ने, करेन्ट लगाउने लगायतका शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताएका छन्। पीडितले ९ महिनापछि नेपाल फर्कनका लागि कम्पनीलाई ८ लाख रूपैयाँ तिर्न बाध्य भएको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

यसअघि यस्तै घटनामा आइतबार एक पुरूष पनि पक्राउ परेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.