कृषि र पशुपालनलाई प्राथमिकता दिएर वडालाई आत्मनिर्भर बनाउँदैछु : अध्यक्ष क्षेत्री (भिडियाेसहित)
देशभरका ६ हजार ७ सय ४३ वडामध्ये केही वडाले वडावासीलाई गाउँ गाउँमा सिंहदरबारकाे आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर कतिपय वडा विवादकाे भुमरीमा फसिरहेका हुन्छन् ।
तर साेही क्रममा केही वडाले अहिले राम्राे काम गरिरहेका छन् । उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्। यस अर्थमा केही वडाले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन्। जनताको सुःख दुःखका सारथी बनेका छन्।
साेही क्रममा रूपन्देहीकाे तिलाेत्तमा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बिष्णु बहादुर बराल क्षेत्रीसँग वडामा भइरहेका विकास निर्माणका गतिविधि बारे वडा खबर रूपन्देहीका संवाददाता दिपक न्याैपानेले गर्नुभएकाे कुराकानीकाे सम्पादित अश:
संघीय संरचनापछि स्थापित वडा कार्यालयकाे जनतासँग कस्ताे सम्बन्ध छ ?
संघीय संरचनापछि स्थापित वडा कार्यालयले अहिले जनतासँग प्रत्यक्ष भिजेर काम गरिरहेकाे छ । वडा कार्यालय स्थापित भएपछि बनेका एेन नियमका कारण जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
गाउँमै वडा कार्यालय स्थापना भएपछि ३५ दिनभित्र दर्ता हुनुपर्ने घटना सजिलै दर्ता भइरहेका छन् । वडाकाे स्थापनासँग वडावासी प्रत्यक्ष रूपमा हरेका किसिमका सेवा पाइरहेका छन् । जसले गर्दा वडा कार्यालयकाे जनतासँग सम्बन्ध राम्राे छ।
वडाका विकासका आधारहरु के के हुन् ?
वडाकाे विभिन्न क्षेत्रमा विकास भइरहेकाे छ। वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे काम तीव्र रूपमा भएकाे छ।
सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ । सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ ।
निर्वाचित भएको पनि एक वर्षमा भयो । पहिलो वर्षमा के–के काम गर्नुभयो ?
हामीले पहिलाे वर्षमा विनियाेजित बजेट अनुसार नै काम गरेका छाैँ । वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणकाे क्षेत्रमा काम भएकाे छ ।
वडालाई आत्मनिर्भर बनाउने गरी के-कस्ता योजना बनाउनुभएको छ ?
वडालाई आत्मनिर्भर बनाउन हामीले मुख्यतया २ क्षेत्रमा फाेकस गरेका छाैँ । वडालाई आत्मनिर्भर बनाउन हामीले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिएका छाैँ । चालु आर्थिक वर्षमा यी दुवै शीर्षकमा आवश्यक बजेट छुट्याएका थियाैँ ।
आउँदो वर्षको बजेट निर्माण गर्दा के–कस्ता कुरालाई प्राथमिकतामा राख्नुहुन्छ ?
हामीले आउँदो वर्षको बजेट निर्माण गर्दा विगतमा सम्पन्न नभएका याेजनालाई प्राथमिकतमा राखेर बजेट निर्माण गर्छाै । त्यस्तै वडावासीकाे आवश्यक्ताअनुसार याेजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिन्छाैँ । विगत वर्षझै शिक्षा, स्वास्थ्य, कृषि लगायतकाे क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गर्छाैँ ।







