Share Icon

३० फागुन,मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो ।

तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुुँदा अहिले पर्यटकको आवागमन बढेको छ । पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ ।

बेमौसममा सुनसान रहने मनाङ अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । हिमपात भएको अवस्थामा पदयात्रा गर्दा जोखिम मोल्नुपर्ने भए पनि यसवर्ष त्यस्तो जोखिम छैन ।

अहिले जोखिम नहुँदा पर्यटकलाई पदयात्रा गर्न सहज भएको छ । पदमार्गअन्तर्गत लमजुङको बेसीशहरदेखि पर्यटक पैदलयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ ।

सिजन सुरु भएसँगै मनाङमा पर्यटकको चहलपहल बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक रुपमा ५० भन्दा बढी पर्यटक मनाङ भित्रिन थालेका छन् ।

सन् २०२३ को सुरुआतमै ४२ देशका पर्यटक मनाङ भित्रिएका छन् । सन् २०२३ पहिलो महिना जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश अनुमति लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएका थिए । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुने हो, तर यसवर्ष पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो, सिजन सुरु भएपछि अहिले पर्यटक मनाङ भित्रिन थालेका छन्”, गौतमले भन्नुभयो ।

नयाँ वर्षको योजनाअनुरुप दक्षिण कोरियाका पर्यटक मनाङ भ्रमणमा आएको उहाँले बताउनुभयो । कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेको उहाँको भनाइ छ ।

हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताललगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उहाँ बताउनुहुन्छ । “विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिन्छौं । यो मार्ग जोखिमयुक्त भएकाले जानकारी पनि दिन्छौ”, गौतमले भन्नुभयो ।

हिमपात भएपछि हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरुपमा यात्रा रोकिने उहाँले जानकारी दिनुभयो ।पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।

काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित यात्राको सुरुवात गर्दछन् ।

मनाङमा दुई वटा सिजनमा पर्यटक आउँछन् । सिजनअनुसार तिर्नुपर्ने रकम पनि फरक–फरक निर्धारण गरिएको छ । नार्पाभूमि गाउँपालिकाका सबै क्षेत्र र नासों गाउँपालिकाका ६ र ७ नम्बर वडामा घुम्दा सेप्टेम्बरदेखि नोभेम्बरसम्म अलि महँगो पर्दछ ।

एक साताको एक सय अमेरिकी डलर तथा त्यसपछि थप्नुपर्दा प्रतिदिन १५ अमेरिकी डलर तिर्नुपर्छ । डिसेम्बरदेखि अगस्टको सिजनमा एक साताको ७५ अमेरिकी डलर तथा त्यसपछि दैनिक १५ अमेरिकी डलर तिर्नुपर्ने प्रावधान निर्धाण गरिएको छ ।

Facebook Comments Box

Share Icon