सीप पुस्तान्तरण नहुँदा बुट्टेनली लोपोन्मुख अवस्थामा

Share Icon

२८ फागुन,ढोरपाटन । “अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रशस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दिनँ, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्तीमगर उमेरले ८३ मा लाग्नुभयो ।

अहिले पनि उहाँ घरभित्र बाहिरको काम सहजै गर्न सक्नुहुन्छ । तर पछिल्ला दिन उहाँको आँखा कमजोर हुँदा चित्र कोर्ने रुचि हुँदाहुँदै पनि सक्नुहुन्न ।

चित्र कलामा पोख्त उहाँले जवानीमा काठ तथा बुट्टेनलीमा धेरै आकृति कोर्नुभयो । एक दशक अगाडिसम्म पनि उहाँले सजिलै बुट्टेनली बनाउने गर्नुहुन्थ्यो तर आँखामा मोतियाविन्दु भएपछि आँखाको शल्यक्रिया गर्नुभयो ।

उहाँले भन्नुभयो “शल्यक्रियापछि चित्र कोर्न सक्दिन । ” ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकार पाइँदैन । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रूपमा रहेको छ । नयाँ पुस्तामा सीप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।

बाँस, लेकमा पाइने गजिङ, मालिङलगायतका बाँसजन्य काठमा हातले कलात्मक शैलीमा कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिएकामा अहिले त्यो प्रचलन हराउँदै गएको घर्तीमगरले गुनासो पोख्नुभयो ।

उहाँले देवी–देवता खुसी बनाउनका लागि उनीहरूको चित्र बनाउने गरेको बताउनुभयो । बुट्टेनलीमा भगवान्को चित्रसँै फूल, चरालगायत मौलिक सांस्कृति बोकेका वस्तुको चित्र कोरिने गरेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “हाम्रो पालामा बुट्टेनली बनाउन समस्या थिएन, बाउबाजेले बनाउँथे उनीहरूबाटै सिक्यौँ, बनायौँ पनि, अहिले ठिटाहरूले यस्तो काम गर्दैनन्, सिक्न पनि चाहन्नन्, त्यसले गर्दा हराउँदै गयो, अहिले पनि गाउँमा दुई–चार जना बुढा छन्, उनीहरूले राम्रो चित्र कोर्थे, अहिले त उनीहरू पनि मजस्तै आँखा नदेख्ने भए ।”

बुट्टनली देशभित्र मात्रै नभई युरोप–अमेरिकालगायतका ठूला–ठूला देशमा निर्यात हुने गरेको उहाँले सम्झिनुभयो । अहिले कसैले किन्न चाहे पनि गाउँमा पाइन छाडेको घर्तीमगरले बताउनुभयो ।

बागलुङ जिल्लाको चिनारी बनेको बुट्टेनली लोप हुँदै गएपछि पहिचान जोगाउनै हम्मेहम्मे पर्ने स्थिति आएको छ । स्थानीय प्रेमबहादुर सुनारले गाउँमा आउने पाहुनालाई मायाको चिनोस्वरुप बुट्टेनली दिने गरेको स्मरण गर्नुभयो ।

उहाँले अहिले ढोरपाटन घुम्न आउने पर्यटकले बुट्टेनली किन्न खोज्ने गरेको सुनाउँदै उनीहरूलाई बिक्री गर्ने बुट्टेनली गाउँघरमा पाइन छाडेको बताउनुभयो ।

लौरोका रूपमा प्रयोग गरिने बुट्टेनली अहिले गाउँका एकाध बूढापाकाबाहेक अरुसँग नभएको उहाँले बताउनुभयो । बुट्टेनली बन्न छाडेपछि गाउँका बूढापाकाले बजारमा आएका फलामका लौरो प्रयोग गर्न थालेको उहाँको भनाइ छ ।

“हामीहरु त लेकमा बस्ने मान्छे हौँ, सधैँ लेकबेँसी गर्नुपथ्र्यो, लेकबेँसी गर्दा त्यही बुट्टेनली टेकेर हिँडिन्थ्यो, तल–तल बजारतिर जाँदा साहु साहेबहरूले उतै राख्नुहुन्थ्यो, निकै राम्रो लाग्थ्यो रे उहाँहरूलाई, कहिलेकाहीँ गाउँमा आउँदा इष्टमित्रलाई मायाको सम्झनाका लागि बुट्टेनली दिने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले त त्यस्तो चलन छैन, त्यो चलन पनि हरायो, बुट्टेनली पनि हरायो ।”

निसीखोला गाउँपालिका–६ का तेजिन्द्र घर्तीमगरले बुट्टेनलीसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, कोक्रोलगायतका सामानसमेत बुन्न छाडिएको बताउनुभयो ।

आयातित प्लास्टिकका सामानले चोयाबाट बन्ने सामग्री ओझेलमा परेको सुनाउनुभयो । आफ्नो घरमा तीन वर्ष अगाडिसम्म दुईवटा बुट्टेनली रहेकामा पोखराबाट घुम्न आएका पर्यटकले लिएर गएको उहाँ बताउनुहुन्छ ।

“जुगजमाना फेरिए, पहिले–पहिले निकै प्रयोगमा आउने धेरै सामान अहिले भेट्टाउन सकिँदैन, त्यसमध्ये बुट्टेनली पनि महत्वपूर्ण मानिन्छ, जिजुबाजेबाट बाजेले सिके, बाजेबाट बाउहरूले सिके तर बाउहरूबाट हामीले सिक्न सकेनौँ, त्यही भएर अहिले कसैले खोज्यो भने कतै पनि भेट्टाउन सकिँदैन”, उहाँले भन्नुभयो ।

साविक धवलागिरि अञ्चलको बागलुङमा बढी प्रचलित बुट्टेनली नेपालमै चर्चित काष्ठकलाका रूपमा लिइन्थ्यो । गाउँमा आउने विदेशी पर्यटकलाई बुट्टेनलीले लोभ्याउने हुँदा उनीहरूले हजारौँ रुपैयाँ तिरेर लैजाने गरेको बूढापाका बताउँछन् ।

बुट्टेनलीसँगै भेडाका रौँबाट बनेका राडीपाखी र लेकाली गाईको घ्यूसमेत विदेशीले लैजाने गरेको उनीहरूको भनाइ छ । अहिले लेकाली गाईको घ्यू र बुट्टेनली भेट्टाउनै मुस्किल पर्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.