शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

Share Icon

२६ फागुन,काठमाडौँ । विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेता सम्मिलित बैठकले पछिल्ला दिनमा भइरहेका गतिविधिको सामूहिक प्रतिवाद गर्ने र साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा समान धारणाका साथ जनतामा जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । पत्रकार सम्मेलन अघि संयुक्त अपील समेत जारी गरिनेछ । अन्तरक्रियामा माओवादी घटकका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनुपर्ने भन्दै राजनीतिक स्थिरता र स्थायी शान्तिको पक्षमा जनतामा जाने निर्णय पनि गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेकपा (क्रान्तिकारी–माओवादी) का नेता सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा (बहुमत) का नेता

हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव गुरूङ, उपमहासचिव शर्मा सचिव देवेन्द्र पौडेल, नेकपाका नेता खड्कबहादुर विक र नेकपा (माओवादी केन्द्र समाजवादी)का नेता कर्णजीत बुढाथोकीलगायत उपस्थित हुनुहुन्थ्यो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.