Share Icon

२४ फागुन,अत्तरिया । कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ ।

कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले अतिक्रमण रोक्ने काम वन कार्यादय एक्लैको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो ।

“सो क्षेत्रमा वनको खाली जमिन अतिक्रमण गरिन थालिएको छ, यसलाई कसरी हटाउने भन्ने विषयमा योजना बनाइहेका छौँ”, उहाँले भन्नुभयो, “छिट्टै कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ । सत्यतथ्य बाहिर ल्याउने छौँ ।”

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार कैलालीमा हालसम्म २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको तथ्याङकका आधारमा यो २१ प्रतिशत हो ।सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सात असोज १२ गते तेघरी जङ्गलमा राजधानी तोकेलगत्तै यस क्षेत्र अतिक्रमणको उच्च चपेटामा पर्न थालेको हो ।

जिल्लाको गोदावरी नगरपालिका–३ गैरीगाउँमा रहेको नवज्योति सामुदायिक वनको खाली क्षेत्रमा जग्गा हड्पने उद्देश्यसका साथ यतिबेला टहरा निर्माण भएको स्थानीयको आरोप छ ।

अतिक्रमण बढेसँगै सामुदायिक वनको क्षेत्रफल घट्दै गएको गोदावरी–३ खमौराका पार्वती महराको भनाइ छ । गैह्रीगाउँ क्षेत्रमा जङ्गलको जमिन कब्जा गरेर बिक्री समेत भइसकेको आरोप लगाउँदै आफूहरुको विरोधको कुनै सुनुवाई नभएको बताउनुभयो ।

वनको क्षेत्रफल मासिँदै गएपछि एकतर्फ नदी कटानको जोखिम बढेको छ भने अर्कोतर्फ घाँस दाउराको समस्या हुन थालेको छ । नगरपालिकाले जग्गा नापीको काम अघि बढाउँदा अत्तरिया आसपासका सामुदायिक वन र सडक किनारका खाली जमिनमा अतिक्रमण बढेको स्थानीय टिकेश्वरी पनेरुको भनाइ छ ।

“जग्गा नापीको काम भइरहेको बेला अतिक्रमणकारीले वन क्षेत्रमा कब्जा जमाउन थालेका छन्”, उहाँले भन्नुभयो । अत्तरियाको महेन्द्रनगर सडकमा रहेको गोदावरी खोला पारिको सडक किनार अतिक्रमण हुन थालेको छ । गोदावरी नगरपालिका–३ मा रहेको बडिमालिका सामुदायिक वनको तारबार गरिएको सीमा नजिकै सडक किनारको जमिन अतिक्रमणमा परेको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानीस्थल तोकिएको तेघरी जङ्गल नजिकै रहेको हनुमान मन्दिरक्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्रमा बढी वन क्षेत्रमा पनि अतिक्रमण बढेको छ ।

Facebook Comments Box

Share Icon