भारतद्वारा डोटी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

Share Icon

डोटी । बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २.८९ करोड आर्थिक सहयोगमा निर्माण हुने डोटीको बडीकेदार गाउँपालिकास्थित श्री केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको शिलान्यास गरेका छन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विभिन्न सुविधाहरूसहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि उपयोग गरिने छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र बडीकेदार गाउँपालिका, डोटीमार्फत कार्यान्वयन गरिएको हो । यो परियोजना भारत र नेपालबीचको अत्यन्त बलियो विकास साझेदारीको एउटा महत्त्वपूर्ण उदाहरण हो ।

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

यस क्याम्पसको भवन निर्माण सम्पन्न भएपछि यस नयाँ पूर्वाधारले श्री केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्याई सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन्। जसमा ४ वटा परियोजना डोटीमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटी जिल्लालाई उपलब्ध गराइएको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.