गुलरिया वडा नं. ८ द्वारा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण

Share Icon

गुलरिया । बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं ८ मा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण भइरहेकाे छ । गुलरिया नगरपालिकाले संकलन गरेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई धमाधम निस्सा वितरण भइरहेकाे छ ।

भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीले नगरपालिकामा दर्ता गराएको निवेदन राष्ट्रिय भूमि आयोगबाट प्रमाणिकरण भएर आएको नाप नक्साको निस्सा नगरपालिकाले वितरण गर्न सुरु गरेको हो ।

गत शुक्रबार गुलरिया नगरपालिका–८ कार्यालयले निस्सा वितरण गर्न सुरु गरेको हाे । वितरण गरिएको निस्सामा भोगचलन गरेको जग्गाको कित्ता कोड, जग्गा रहेको ठेगाना र अनुमानित क्षेत्रफललगायत उल्लेख छ ।

गुलरिया नगरपालिकाका नगर प्रमूख मुक्तिनाथ यादवको आतिथ्यमा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण गर्ने कार्य सुरू भएकाे हाे ।

अस्थायी निस्सा हस्तान्तर गर्दै सुरक्षितसाथ राख्न गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे । ‘यही निस्साको आधारमा जोतभोग गर्दै आएको जग्गाको नाँपजाँच हुन्छ’नगर प्रमुख यादवले भन्नुभयाे ,‘निस्सालाई लेमिनेशन पनि नगर्नुहोला,यही निस्सामा नाँपजाँच गर्न खटिने अमिनको टोलीले लेख्नुपर्छ ।’

गुलरिया नगरपालिकाको अधिकांश वडामा नाप नक्साको निस्सा वितरण भईरहेको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयाे । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई पहिलो चरणमा ५ हजार बढीलाई निस्सा वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयाे ।

वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाँले वडा भित्रका भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाको अस्थायी निस्सा वितरण गरिरहेका छन् । अहिलेसम्म वडाभित्र करिब १ सय ५० जनालाई अस्थायी निस्सा वितरण गरिएको वडा अध्यक्ष बानियाँले बताउनु भयाे । ‘निस्सा आएको वाडावासीलाई हामीले निस्सा उपलब्ध गराउने छौं’ अध्यक्ष बनियाँले भन्नुभयाे ,‘वडा कार्यालयमा निस्सा लिन आउँदा नागरिकता र फारम दर्ता गराउने बेला पाएको अर्धकट्टी ल्याउनुहोला ।’

गुलरिया नगरपालिका–८ कार्यालयले २ सय ४६ अव्यवस्थित बसोबासी, ८१ जना भुमिहिन सुकुम्बासी र ३५ जना भुमिहिन दलित गरि जम्मा ३ सय ६२ जनालाई नाप नक्साको निस्सा वितरण गर्ने वडा सचिव छविलाल ज्ञवालीले जानकारी दिनुभयाे ।

वडा कार्यालयका अनुसार आगामी दिनमा बाँकी रहेका अस्थायी  निस्साहरू वडा कार्यालयबाट बाँड्ने कार्यक्रम रहेको छ । वडा अध्यक्ष बनियाँले भन्नुभयाे,’सम्बन्धित व्यक्ति उपस्थित हुन नसकेकाे खण्डमा आफ्नो जग्गाको अस्थायी निस्सा परिवारका निकटतम्  व्यक्तिले वडा कार्यालयबाट संकलन गर्न सकिने छन्।’

साथै आउने दिनमा केन्द्र सरकार र स्थानीय सरकारको समन्वयमा आफ्नो वडावासीहरुलाई जग्गाको लालपुर्जा समेत दिलाउन आफू प्रतिबद्ध रहेको वडा अध्यक्ष बानियाँले जानकारी दिनुभयाे ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.