अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न कालखण्डमा भएका सबै साना तथा ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको पनि बताए ।
उनले भने–‘राज्यका सबै सार्वजनिक निकायहरूलाई बढी जिम्मेवार र जवाफदेही बनाउन नवीन प्रविधिको विकास र उपयोग गर्नुपर्छ । सार्वजनिक तथा निजी क्षेत्रमा समेत सदाचारिताको आधारशीला विकास गर्न राष्ट्रिय सदाचार नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।’
भ्रष्टाचारका विरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका उनले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनमा समसामयिक सुधार गरी यसै वर्षभित्र नयाँ ऐन संसदबाट पारित गराउन सरकारको तर्फबाट आवश्यक प्रयास हुने प्रतिवद्धतासमेत जनाए ।