Share Icon

काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण गरिएको हो ।

ट्राफिक प्रहरीले खोजिदियो दुई सय ५२ वटा मोटरसाइकल
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा सवारी साधनधनीलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार शुक्रबार १७ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ भट्टले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारी साधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालीमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकण्ठ, चुनदेवी, फर्पिङ, नयाँबसपार्कलगायत स्थानमा दुईपाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नं १०३, नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

Facebook Comments Box

Share Icon