संसद बैठकमा रवि लामिछानेको प्रश्न – सहकारी ठगलाई कारबाही गर्न नयाँ दलले रोक्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पारे ।
सभापति लामिछानेले भने,’पुराना दलहरुले एक पटक आफ्नाे दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरु अझै पदाधिकारीको रुपमा रहन्छन्। त्यहाँ हेर्ने हो कि ? विश्व विद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ?’
उनले भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए ।
सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए ।