चिनियाँ बिआरआई ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन

Share Icon

वीरगन्ज । चीनको विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै वीरगन्जमा प्रदर्शन भएको हो । राष्ट्रिय एकता अभियान, विरगंजले चिनियाँ ऋणजाल विरुद्ध सचेतना र्याली निकाल्दै प्रदर्शन गरेको हाे ।

अभियानका राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋणजालबाट मुक्त गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, नेपाल–चीनबिच भएको बिआरआई सम्झौता खारेज गर, चिनियाँ हस्तक्षेप बन्द गर लगायका चीन विरोधी नारा लगाइएको थियो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस् भन्दै मुख्य मागसहित निकालिएको र्याली विरगंजको माइस्थान मन्दिर अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी घण्टाघरमा पुगेपछि कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्याशित रुपमा बढेको चिनियाँ सक्रियताले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा परेको आरोप लगाएका थिए । संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चीनको सक्रियता र सहयोग दुवै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउँदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठूलो आवश्यकता रहेको बताए ।

उनले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चीनले दिएको सहयोग नेपालको लागि ठूलो ऋणजाल सबित हुने ठोकुवा गरे । संयोजक यादवले पोखरा विमानस्थलमा देखिएको आर्थिक खाटापुर्तिको बहानामा चिनियाँ सेना पोखरामा ल्याउने ठुलो खेल भइरहेको आरोप समेत लगाएका थिए । नेपालको सार्वभौमसत्तामाथि बढ्दै गएको खतराबाट समयमै सचेत हुन सबै नेतालाई आफूहरुले पटक-पटक अनुरोध र आह्‍वान गर्दै आएपछि घैटोमा घाम नलाग्नु दु:खको कुरा भएको संयोजक यादवको भनाइ थियो ।

यादवको भनाइमा समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसंग गरेको बिआरआई सम्झौता अबिलम्ब खारेजीको माग गरेका थिए । कार्यक्रमका अरु वक्ताहरुले राष्ट्रिय स्वाधीनताको महत्व, मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागि ठुलो ऋण जाल भएको कुरामा जोड दिएका थिए ।

वक्ताहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट भविष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगिन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रमका अध्यक्ष विद्यार्थी नेता कुशवाहाले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै तराईमा बढदै गएको चिनीयाँ सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्रीलगायत सबै नेताहरूलाई आग्रह गरेका थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.