आखिर पैसामा के छ ?

Share Icon

अचानक एक ट्रक पैसा भेट्नुभयो भने के गर्नुहुन्छ ? संभवत एकक्षण मस्तिष्कले काम गर्ने छैन । यत्तिका पैसा के गर्ने ? कुनै मेलो पाउनुहुनेछैन । भावशून्य हुनुहुनेछ ।

जब तपाईं हतार–हतार सो पैसा उठाएर भएभरको झोलामा कोच्न थाल्नुहुन्छ, कसैले हठात तपाईंको कठालो समाउँछ । निद्रा भंग हुन्छ । ब्युँझनुहुन्छ । पैसा फेला परेकै बखत निद्राबाट उठ्नुपर्दा कस्तो हुन्छ ?

तपाईंलाई खुसी लाग्नेछैन । विस्मत् हुनेछ । अनि आफैसँग भन्नुहुनेछ, ‘धत्, कस्तो ब्युँझिएछु ।’ तपाईंलाई के लाग्छ भने त्यस क्षण नब्युँझिएको भए पनि हुन्थ्यो । सपनामा सही, अथाह पैसा छाड्नुपर्दा कताकता दुःख लाग्नेछ ।

पैसा खासमा त केही होइन । कागज न हो । एउटा अवोध बच्चालाई वा कुनै वैरागीलाई त्यसको कुनै परर्वाह हुनेछैन । अघिल्तिर जतिसुकै पैसा थुपार्नुहोस्, त्यसले उनीहरुलाई कुनै खुसी, उमंग दिनेछैन । तर आम मान्छे शान्त र स्थिर हुनेछैन, जब उनको सामुन्न पैसाको थुप्रो लगाइनेछ । पैसाले उनीहरुलाई अनौठो ढंगले सम्मोहित गर्नेछ ।

आखिर पैसामा त्यस्तो के छ ? किन पैसा देख्दा मान्छेको मन फुरुंग हुन्छ ? यो मान्छेको मनोविज्ञानसँग जोडिएको प्रश्न हो । पैसाप्रति मान्छे यसकारण आकर्षित छन् कि त्यसले उसका आवश्यक्ताहरु पुरा गर्ने सामथ्र्य राख्छ । हो, पैसामा शक्ति हुन्छ । क्रयशक्ति ।

त्यही शक्तिको आडमा पैसाले दुनियाँलाई आफुतिर आकर्षित गरेको छ । त्यसैले त भन्ने गरिन्छ, ‘पैसा देखेपछि त शिवजीको पनि तीन नेत्र खुल्छ ।’ ‘पैसाको मुखै कालो ।’ ‘छ पैसा छनछनी, छैन पैसा हनहनी ।’ ‘पैसाकै लागि आफ्नो बिरानो ।’

जब मान्छेले पैसा चिन्न थाल्छ, त्यसप्रति उसको लगाव बढ्दै जान्छ । अनि पैसा कमाउने मोलोमेसो खोज्न थाल्छ । पढ्छ, जागिर खान्छ, उद्यम व्यवसाय गर्छ । अनेक गर्छ । पैसा कमाउँछ । तर, कति पैसा भएपछि मान्छेलाई पुग्छ ? यो अन्त्यहिन प्रश्न हो । मान्छेलाई पैसाले पुग्दैन । जति कमाएपनि ।

जीवनलाई सुविस्तासँग विताउनका लागि मान्छेले पैसाको जोहो गर्छ । पैसा भएपछि मान्छेले दाल–चामल किन्न सक्छ । लुगाफाटो किन्न सक्छ । घर बनाउन सक्छ । गाडी जोड्न सक्छ । सन्तानलाई पढाउन सक्छ । औषधि उपचार गर्न सक्छ । खुलेर चाडपर्व मनाउन सक्छ । विन्दास घुमफिर गर्न सक्छ । मनोरञ्जन गर्न सक्छन् । अरु धेरै धेरै कुरा गर्न सक्छन् । कतिसम्मगर्न सक्छ भने, अरुको समय, श्रम, उमेर आफ्नो हीतमा प्रयोग गर्न सक्छन् ।

कति फोहोरी पैसा ?

त्यसैले मान्छे जतिसक्दो पैसा थुपार्ने यत्नमा रहन्छन् । तर, पैसाको प्रवृत्ति के हो भने यो कसैसँग सधैभर रहिरहँदैन । आज मेरो खल्तीमा भएको पैसा भोलि अर्कोको हातमा हुन्छ । यसरी पैसा एउटा हातबाट अर्को हातमा सरिरहन्छ । आज मेरो खल्तीमा भएको पैसा अघिसम्म मासु पसलेको हातमा हुनसक्छ, व्यापारीको हातमा हुनसक्छ, कर्मचारीको हातमा हुनसक्छ, बिरामीको हातमा हुनसक्छ वा चोर वा अपराधीको हातमा पनि हुनसक्छ । यसरी पैसा एक हातबाट अर्को हातमा सरिरहने भएकाले यो जीवाणुको घर पनि बन्ने गर्छ ।

पैसामा कति जीवाणु हुन्छ भनेर विश्व एवं नेपालमै पनि पटक–पटक अध्ययन भएको छ । त्यसको साझा निचोड छ, पैसामा तीन हजार भन्दा बढी प्रकारका जीवाणु हुन्छ । यस हिसाबले पैसालाई ‘अत्यान्तै फोहोरी बस्तु’ पनि भनिन्छ ।

तर, पैसाले पनि अहिले आफ्नो स्वरुप र संयन्त्रमा फड्को मारिसकेको छ । यो डिजिटलाइज्ड हुँदै गएको छ ।

पैसा नभएको भए ? 

आखिर जे भएपनि पैसा जीवनको एक अनिवार्य हिस्सा हो । पैसा नहुँदो हो त के हुन्थ्यो ? यो सोचनिय विषय हो । साँच्चै पैसाको प्रचलन नहुँदो हो, यसको मूल्य तोक्ने विश्वव्यापी वित्तिय सिद्धान्त नहुँदो हो, यसलाई परिचालन गर्ने बैंकिङ प्रणाली नहुँदो हो । अर्थात पैसा फगत कागजको खोस्टा हुँदो हो । तब के हुन्थ्यो ?

सहज अनुमान गर्छ सकिन्छ, बस्तु विनिमय नै जीवनयापनको माध्यम बन्ने थियो । लेकका मान्छेले उत्पादन गरेको आलु, तराईका चामलसँग साट्नुपर्ने हुन्थ्यो । एक किलो घिउसँग कति किलो मह साट्ने भन्ने तय गर्नुपर्ने हुन्थ्यो । यो सत्य हो, जतिबेला पैसाको प्रचलन सुरु भएको थिएन त्यसबेला वस्तु विनियम गरिन्थ्यो ।

कृषियुगमा, जतिबेला बजारको अवधारणा आइसकेको थिएन, त्यसबेला मान्छेहरु आफुले जे भेट्छ, जे फलाउँछ त्यही खाएर गुजारा गर्थे । तर, समय क्रममा मान्छेको आवश्यक्ता र आकंक्षाको दायरा बढ्दै गयो । उनीहरुलाई यस्ता कुराको अभाव महसुष हुन थाल्यो, जो आफुसँग छैन । आफुसँग नभएपछि अरुबाट लिनुप¥यो । यसका लागि सामान आदन–प्रदान गर्नुपर्ने भयो । यसरी सट्टापट्टा प्रणाली विकास भयो ।

तर, बद्लिदो समाज, बढ्दो आवश्यक्ताबीच यस किसिमको प्रणाली उपयोगी हुन्छ त ?

अहँ, हुँदैन । यही प्रश्नमा पुगेपछि मान्छेले पैसाको अवधारणा बनाए । अर्थात यस्तो कुनै वस्तु, जसले आफ्नो उपभोग्य वस्तुहरु किन्न सकियोस् । बोक्दा छरितो होस् । र, त्यसको निश्चित मूल्य निर्धारण होस् । अन्ततः उनीहरुले जनवारको छाला, अंग आदि हुँदै धातुहरुलाई यसका लागि प्रचलनमा ल्याए । फलाम, तामा, काँस जस्ता धाँतुलाई निश्चित तौलमा ढलौट गरी मुद्राका रुपमा प्रयोग गर्न थालियो । पैसाको उद्गम यहीबाट भयो ।

नेपालमा मानाङ्क, गुणाङ्क, वैश्रवण, पशुपति आदि शब्द अंति तामाका मुद्रा प्रचलनमा आएको इतिहास छ । मानाङक मुद्रा राजा मानदेव र गुणाङ्क मुद्रा राजा गुणकामदेवका पालामा प्रचलनमा आएको मानिन्छ । सातौ सताब्दीमा अंशुवर्मा र त्यसपपिछ जिष्णुगुप्ताको नाम अंकित सिक्का पनि प्रचलनमा ल्याएका थिए । विभिन्न कालखण्डमा, विभिन्न राजा महाराजाले यसरी नै धातुको मुद्रा प्रचलनमा ल्याए र नेपाल एकिकरणपछि पृथ्वीनारायण शाहले पनि आफ्नो मोहर चलाए । वि.सं. १९८१ मा टक्सार स्थापना पछि मात्र नेपालमा वैज्ञानिक ढंगबाट सिक्का निकाल्न थालिएको हो ।

धातुको पैसालाई कसरी छरितो र सहज बनाउन सकिन्छ भन्ने खोजसँगै कागजी पैसाको अवधारणा विकास भयो । सातौं सताब्दीमा चीनमा ताङ वंशको पालामा यसको अवधारणा विकास भएपनि ११ औं सताब्दीमा सोङ वंशको पालामा मात्र व्यवहारिक रुपले प्रचलनमा ल्याइयो । युआन वंशको शासनकालमा मंगोल साम्राज्यभर कागजी पैसाको प्रयोग व्यापक हुँदै गयो ।

नेपालमा कागजी नोटको प्रचलन धेरै पछि भएको हो । सुरुमा खुला सीमा र एकतर्फी व्यापारको कारण भारतिय नोट नै नेपालमा भित्रिए । पछि वि.सं. २००२ असोज १ गतेदेखि नेपाल सरकारको सदर मुलुकी खानाबाट एक, पाँच, दश र सयको नोट प्रचलनमा ल्याइयो ।

सहज अनुमान गर्न सकिन्छ, पैसा फगत मान्छेले आफ्नो सहजताका लागि परिकल्पना र प्रयोगमा ल्याएका जिनिस थियो । तर, आज पैसामा छुटै ग्ल्यामर छ । सपनामा समेत मान्छे पैसाको थुप्रो देख्छ र झसंग व्युँझदा विस्मत् मान्छन् ।

पैसाको मूल्य

हामी वस्तुको मूल्य पैसाले निर्धारण गर्छौं । अर्थात कति रुपैयाँको विस्कुट, कति रुपैयाँको कांक्रो, कति रुपैयाँको टिसर्ट, कति रुपैयाँको ल्यापटप, कति रुपैयाँको औंठी, कति रुपैयाँको घर ?

तर, पैसाको पनि आफ्नै मूल्य हुन्छ । प्रारम्भिक चरणमा पैसालाई ‘मूल्य’मा जोडिएकै कारण यसमा क्रयशक्ति आयो । पैसाको मूल्य नहुँदो हो त यसमा कुनै शक्ति हुँदैनथ्यो ।

इसापूर्व छैठौं सताब्दीको मध्यतिर प्राचिन ग्रीसले ड्राचमा नामको चाँदीको सिक्का निकालेको थियो । ग्रीक भाषामा लेखिएको ड्राचमाको अर्थ अठ्याउनु वा प्राप्त गर्नु हो । यसको सुरुको मूल्य एक मुठी तीर वा वाण बराबर भन्ने बुझिन्थ्यो ।

यसैगरी रोमन गणतन्त्रले सुरुमा निश्चित तौलका काँसलाई विनिमय प्रणालीमा ल्याएको थियो । तर, सुरुवाती सिक्का अलि भद्दा र गह्रौं थियो । पछि समयानुकुल त्यसलाई छरितो बनाउँदै लगियो । सुरुमा धातुको तौलको आधारमा मूल्य निर्धारण गरिएपनि विस्तारै धातुको मूल्यभन्दा सिक्काको मूल्य बढी तोकिन थालियो ।

र, आजको मितिसम्म आइपुग्दा पैसा एक मूल्यवान वस्तुमा दरियो । बजारले निर्धारण गर्ने क्रयशक्तिको आधारमा अहिले पैसाको मूल्य तलमाथि हुन्छ । कुन पैसाको मूल्य कति भन्ने कुरा सम्बन्धित मुलुको अर्थव्यवस्थामा निर्भर हुन्छ । त्यसैले डलर र हाम्रो नेरुको मूल्य एकसमान छैन । भारु र हाम्रो नेरुको मूल्य उस्तै छैन ।

हरेक देशको केन्द्रिय वैंक अन्र्तगत पैसाको मूल्य र परिचालनको संयन्त्र तय गरिन्छ । जस्तो, नेपालको राष्ट्र वैंक । सरकारले आफ्नो लगानीमा स्थापना गरेको यो एक संस्था हो, जसले पैसाको विनियमन गर्छ ।

के जतिपनि पैसा छाप्न मिल्छ ?

मान्छेको खल्तीभरी पैसा, उत्तिनै बैंक मौजाद हुँदो हो त कति ढुक्क हुन्थ्यो होला । सबै सम्पन्न हुन्थे । पुगिसरी हुन्थे । त्यसो भए राज्यले धेरैभन्दा धेरै पैसा किन छाप्दैन ?

खासमा पैसा त्यसरी मनोमानी ढंगले छाप्न पाइदैन, सकिदैन । हो, एकदमै संकटको क्षणमा राज्यले यस्तो काम पनि गर्छ । अर्थात धेरै पैसा छाप्न सक्छ । जस्तो युद्धको चरम स्थितीमा, संकटले तहसनहस भएको क्षणमा । यो एकदमै आपतकालिन अवस्थाको कुरा हो ।

तर, सामान्यत राज्यले पैसा छाप्ने आफ्नै प्रणाली हुन्छ । यसको जिम्मेवार निकाय, राष्ट्र वैंक हो । बैंकको नोट विभागबाट पैसा कति छाप्ने, कहिले छाप्ने भन्ने टुंगो गरिन्छ । उनीहरुले पनि यो कुराको टुंगो यस आधारमा गर्नुपर्ने हुन्छ कि, राज्यसँग मौजाद सम्पति कति छ ? सुन, चाँदी वा विदेशी मुद्रा कति छ ? सोही आधारमा नयाँ नोट छाप्न पाइन्छ ।

राष्ट्र बैंकले साढे तीन बर्षको लागि आफुलाई पुग्नेगरी पैसा राखेको हुन्छ । यी पैसा राज्यमा विभिन्न रुपले परिचालित हुन्छ । विभिन्न कारणले जब पैसा अपुग हुन्छ, तब थप पैसा छाप्नेबारे राष्ट्र बैंकले निर्णय गर्छ ।

पैसालाई माया गर्नुपर्छ ?

पैसा कमाउनु, बचाउनु जरुरी छ । किनभने पैसाले वर्तमानलाई सहज बनाउँछ भने भविष्यलाई सुरक्षित पनि । आज हामीलाई सुविधासाथ खान बस्नका लागि र भोलि रोगव्याधिको औषधि उपचार गर्न पनि पैसा चाहिन्छ । छोराछोरीलाई पढाउन पैसा चाहिन्छ । यी सम्पूर्ण काममा लागि पैसा जरुरी छ ।

तर, पैसालाई यति धेरै पनि माया नगरौं कि जसले परिवार, साथीभाई, इष्टमित्रसँगको मायामा अवरोध ल्याओस् ।

यद्यपि पैसालाई यस हिसाबले माया गरौं, जो जतन र सुरक्षित होस् । पैसा बोक्दा, प्रयोग गर्दा, राख्दा जतन गरौं । जथाभावी केरमेट गर्ने, खुम्च्याउने, च्यात्ने नगरौं । पूजाआजा गर्दा पनि पैसामा रंग अबिर लगाउने नगरौं । संभव भएसम्म सर्लक्क जोगाएर बोकौं । किनभने जति जति हामीले पैसालाई थोत्रो बनाउँछौं, त्यसलाई जलाएर नष्ट गर्नुपर्ने हुन्छ । भलै अहिले थोत्रो पैसालाई बिग्रेड बनाउने गरिएको छ । तर, पैसा थोत्रो बनाउनु भनेको राज्यको व्यायभार बढाउनु हो । पैसा छाप्नकै लागि राज्यले बर्षमा दुई अर्बभन्दा बढी खर्च गर्नुपर्छ ।

एउटा पैसा छाप्न कति धेरै मिहेनत र खर्च गरिएको हुन्छ ?

तपाईं एउटा नोट लिएर हेर्नुहोस् । त्यसमा राखिएका अंक, संकेत, चित्र र रंगहरु हेर्नुहोस् । ती पैसाको सुरक्षा संयन्त्र हुन् । एउटा कागजको खोस्टो र पैसाको मूल्य किन उस्तै हुन्न ? तपाईंले जवाफ पाउनुहुनेछ ।

पैसालाई आफ्नो आवश्यक्ता पुरा गर्न त प्रयोग गर्न नै पर्छ । भोलिको सुनौलो भविष्यका लागि संचय गर्नुपनि जरुरी छ । र, उत्तिनै जरुरी छ पैसालाई अत्यान्तै जतनसाथ प्रयोग गर्न ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.