न्यायको प्रतिक्षामा रामआशिष

Share Icon

२२ कात्तिक,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुनुहुन्छ । उहाँ दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश हुनुभएको हो ।

दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम–१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आउनुभएको छ ।

विसं २०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठीकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उहाँले अप्रत्यासित घटना सामना गर्नुपर्यो । राति ९ बजेको समयमा उहाँ फिल्मीशैलीमा कुटपिट र लुटपाटमा पर्नुभयो ।

सो रात दाससँग भएको रु एक लाख ५१ हजार नगद लुटपाट भयो । साथै उहाँलाई १५–२० वटा कागजको पानामा औँठा छाप लगाइयो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर उद्धार गर्यो ।

“राति ९ बजेको थियो, म पसल बन्द गरेर घर जाँदै थिए, नकाबधारी समूहले फिल्मीशैलीमा सडकमै कुटपिट गरी नगद लुटपाट गरे”, दासले भन्नुभयो, “नकाबधारीले पेस्तोल, फलामे रड र लट्ठी बोकेका थिए । मैले रामविलास दास र इन्द्र दासलाई मात्र ठम्याउन सके ।

उनीहरूले रोडभन्दा दुई सय मिटरजति उत्तरतर्फ खेतमा लगेर लुटपाट र कुटपिट गरे । कागजमा मेरो औँठा छाप लगाएर भागे । यो सबै घटना प्रहरीलाई थाहा छ ।”

घटना भएको छ महिना पूरा हुँदैछ । अहिलेसम्म दासको जाहेरी दर्ता भएको छैन । लुटपाटको भोलिपल्ट अर्थात् गत वैशाख २६ गते कपिलेश्वर प्रहरी चौकी र वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे जाहेरी दर्ता गराउन पुगे पनि पहिले घटनाबारे बुझ्छौँ अनि दर्ता गरौँला भनेर त्यहाँबाट फर्काइएको दासले बताउनुभयो ।

मङ्गलबार पत्रकार सम्मेलन गरी दासले गुनासो गर्नुभयो, “मेरो जाहेरीको विषयमा प्रहरीसित पटक–पटक जानकारी लिन खोजेँ । तर बुझ्दैछौँ भनेर आलटाल गर्ने गरेका छन् । गत साउन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकिल कार्यालयलाई निवेदन दिएको छु ।

सो कार्यालयको चलानी नं ३२१ पत्रसहित हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी पठाएको थिएँ । तर कुनै सुनुवाइ भएको छैन ।”

करिब २० वटा कागजमा औँठा छाप लगाइएकामा एउटा कागज भने मिटरब्याजी शैलीमा रकम लिएको भनेर सार्वजनिक भएपछि आफू जालसाझीको सिकार भएको र त्यो विषय जानकारी गराउँदा पनि प्रहरीले सहयोग नगरेको दासको गुनासो छ ।

सार्वजनिक भएको सो कागजमा घटना घटेको छ वर्ष पुरानो मिति राखेर अर्थात् विसं २०७४ माघ १४ गते दासले महोत्तरीको लोहरपट्टी–५ का ४२ वर्षीय अशोककुमार ठाकुरबाट सयकडा १० प्रतिशत ब्याजमा रु बीस लाख ऋण लिएको उल्लेख छ ।

“बीसवटा कागजमा औँठा छाप गरिएकामा एउटा मात्र सार्वजनिक भएको छ । त्यसपछि म निकै विक्षिप्त छु, बाँकी कागज सार्वजनिक हुन बाँकी नै छन्”, दासले भन्नुभयो, “साहु भनिएका ठाकुरले ऋण असुलउपर गरिपाउ भनी कानुनी उपचारमा गएको जानकारी पाएको छु ।

अब भोलिपर्सी अरु कागज पनि आउलान् । म प्रधानाध्यापकबाट अवकाश पाएको व्यक्ति, यति ठूलो रकम कहिल्यै कसैसँग ऋण लिएको छैन । वृद्धावस्थामा दुःख पाए । कारण बुझ्न प्रहरीलाई गुहारेको थिएँ । तर न्याय पाइनँ । अब हदम्यादभित्रै अदालत जान्छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.