राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं: प्रधानमन्त्री
१९ कात्तिक,काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।
जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन दिएका हुन्।
‘हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपर्थ्यो, हामीले त्यो काम मूलभूत रुपमा पुरा गरेका छौं। अब राहत र पुनर्स्थापनातर्फ केन्द्रित हुनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जाडोको मौसम छ। त्यसैले न्यानो कपडाको बढी आवश्यक छ। उपचार प्रक्रिया अझ प्रभावकारी बनाउनुपर्दछ।’
उनले तीन दिनसम्म राहतका निम्ति अधिकतम राम्रो गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रभावकारी पुनर्स्थापनाका लागि ऐन, विधि र संरचनाको विकास गर्नुपर्ने धारणा राखे।