Share Icon

१२ कार्तिक,काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार चार दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ ।

उहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा आइतबार बिहान १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकाे हाे । महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभएको हाे। उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै,आइतबार नै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संघीय संसद भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरि उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठका साथै परराष्ट्रमन्त्री साउदसँग पनि महासचिव गुटेरेसले भेट गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तापछि महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुनेछ । महासचिव गुटेरेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई संसद् भवनकै स्काई हलमा सामूहिक भेट गर्ने कार्यक्रम पनि तय भएको छ । महासचिव गुटेरेस आइतवार राती प्रधानमन्त्री दाहालले दिने रात्रीभोजमा सहभागी हुनुहुने कार्यक्रमरहेकाे छ ।

सोमबार महासचिव गुटेरस जलवायु परिवर्तनको असरको जानकारी लिन सोलुखुम्बुको स्याङ्बोचे जानु हुनेछ भने सोमबार साँझ पोखरा जाने कार्यक्रम रहेको छ ।मंगलबार विहान पोखराबाट अन्नपूर्ण आधार शिविरको छोटो पदयात्रामा जाने कार्यक्रम पनि रहेको छ । एबीसीबाट फर्केपछि सोही दिन पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरी उहाँ वुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

मंगलबार नै लुम्बिनीबाट फर्केर अपराह्न ४ बजे नेपालको संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुने भएकाे छ । महासचिव गुटेरेस गत असोज २७ गतेनै नेपाल आएर संसदमा सम्बोधन गर्ने तयारी भएको तर इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणका कारण भ्रमण रोकिएको थियो ।

Facebook Comments Box

Share Icon