Share Icon

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविन गर्ने आयोग शुक्रबार नै घोषणा गरी कार्य प्रारम्भ गर्न माग गरेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले सरकारसँग भएको सहमति अनुरुप सुन तस्करी प्रकरणको छानविन गर्न शुक्रबार नै आयोग घोषणा भई कामको थालनी हुनुपर्ने बताएकाे हाे ।

गत भदौ ६ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीचमा सुन तस्करीकाे बारेमा छानविन गर्न जाँजबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको थियो । यही माग राखि संसद अवरोध गर्दै आएको एमालेले सहमति पश्चात संसद अवरोध हटाएको थियो ।

अयोगले सुन तस्करीलाई स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करीका सम्बन्धमा भएका छानविन अनुसन्धानकाे बारेमा समेत अध्यययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने भनेकाे थियो ।

एमालेका सचेतक महेश बर्तौलाले सरकार संसदबाट गरेको प्रतिवद्धता पूरा नगर्न उद्यत देखिएको बताउनुभयो । उहाँले आयोग गठन भएर कार्य प्रारम्भ नभए सरकार सुन तस्करलाई बचाउन लागि परेको प्रमाणित हुने बताउनुभयो ।

उहाँले सहमतीप्रति छल नगरी तोकिएको मितिमै आयोग गठन गर्न सरकार समक्ष माग गर्नुभयो । एक महिनाको लागि तयारी समय दिएर सहमति गरिएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री विदेशमा हुनुले आयोग घोषणामा कुनै बाधा नपर्ने पनि बताउनुभयो ।

त्यसैगरी सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठन गर्ने सहमतिको अनुरुप सरकारले आयोग गठन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री विदेश भ्रमणमा हुनुले आयोग गठन प्रक्रियामा कुनै असर नपार्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि असोज ५ गते नै आयोग गठन भइ काम सुरु हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसको प्रक्रिया कहाँ पुगेको छ भन्ने सन्दर्भमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

 

Facebook Comments Box

Share Icon