Share Icon

काठमाडौं । सुन तस्करीमा संलग्न चिनियाँलाई दुई लाख रुपैयाँमा नेपाली नागरिकता र राहदानी उपलब्ध गराउने गरेको खुलेको छ । सुन तस्करीको गिरोहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई हातमा लिएर फर्जी विवरणबाट नागरिकता लिने गरेको पुष्टि भएको हो ।

सत्तारूढ माओवादीका नेताहरूसँग सम्बन्ध विस्तार गरी दावा छिरिङ र दावाजिन वाङमार्फत चिनियाँ तस्करले फर्जी विवरणका आधारमा प्रतिथान नागरिकता/राहदानी बनाउन उक्त रकम तिर्ने गरेको भेटिएको छ । पैसा तिरेर नागरिकता र राहदानी पाउने विश्वास दिलाएपछि भारतबाट काठमाडौंसम्म आएको हाल प्रहरी नियन्त्रणमा रहेका एलेक्स भनिने याओ फुचेनले बयान दिएका छन् ।

‘म भारतबाट नेपालमा बिनाभिसा आएर गैरकानुनी रूपमा बसिरहेको छु, नेपाल आउनुको कारण सुनको कारोबार गरी पैसा कमाउने नै हो,’ बयानमा याओले भनेका छन्, ‘मेरो राहदानी भारतीय अदालतबाट फिर्ता नआएको र नेपालमा रहेका साथी अली भन्ने ली वेन सुङले मैले नेपालमा नेपाली नागरिकता र पासपोर्ट बनाएको छु, तपाईं पनि नेपाल आउनुहोस्, आरएमबी (चिनियाँ मुद्रा) १० हजार (करिब २ लाख रुपैयाँ) तिरेपछि बन्ने रहेछ भनेकाले लुकेर आएको हुँ ।’

हङकङबाट गत असार २९ मा स्कुटरको ब्रेक–सु तथा दुबईबाट २०७९ पुस १० मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । ब्रेक–सुभित्र लुकाएर तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको योजनामा र भेपमा लुकाएर चिनियाँ नागरिक दावाजिन वाङमार्फत अवैध सुन भित्रिएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा ५ विदेशीले नेपाली राहदानी बोकेर हङकङ, चीन र दुबई आउजाउ गरेको भेटेपछि सीआईबीले कहाँबाट नागरिकता जारी भयो भन्नेबारे खोजबिन थालेको थियो । त्यही क्रममा नागरिकता र राहदानी बनाउन तस्कर गिरोहले २ लाख रुपैयाँसम्म बुझाउने गरेको खुलेको हो ।

गृह मन्त्रालयको छानबिनबाट पनि जिल्ला प्रशासन कार्यालय काभ्रेले दुई चिनियाँ तस्करलाई फर्जी विवरण पेस गरेर नेपाली नागरिकता दिलाएको पुष्टि भइसकेको छ । त्यसअघि थप २ चिनियाँले काभ्रे र एकले काठमाडौंबाट नागरिकता लिएको भेटिएको थियो । सुन तस्करी प्रकरणमा तस्करका नाइके किटान गरिएका एलेक्स भनिने तिब्बती मूलका बेल्जियन नागरिक याओ फुचेनले १० हजार आरएमबीमा नागरिकता र राहदानी बन्छ भनेर साथीले बोलाएपछि आएको बयान दिएका छन् । तर, आफ्नै अर्का चिनियाँ साथीले आफूबाट २ लाख ५० हजार भारतीय रुपैयाँ (४ लाख) रुपैयाँ लिएर तेञ्जिङ सोनाम तामाङको नामबाट नागरिकता र राहदानी बनाएको उल्लेख गरेका छन् । भारतमा सुन तस्करीमै पक्राउ परेपछि आफू ५ लाख धरौटीमा छुटेको तर राहदानी फिर्ता नआएपछि भागेर नेपाल आई यहींको राहदानी बनाएको आयोको बयानमा उल्लेख छ । भारतमा एलेक्सका नाममा आधार कार्ड बनाएर लुकेको पनि उनले खुलाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Facebook Comments Box

Share Icon