Share Icon

नारायण न्यौपाने

२ असोजकाठमाडौँ । स्सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक सङ्ख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्नुहुन्छ ।

संविधानसभाबाट संविधान जारी भएपछि दुईपटक आमनिर्वाचन भई मुलुक अघि बढिरहेता पनि संसदीय अभ्यास भने कमजोर नै रहेको उहाँको बुझाइ छ । सांसद यादव भन्नुहुन्छ, “संसद् र संसदीय समितिका बैठकमा समयमै उपस्थित भई देश र जनता सरोकारका विषयवस्तु र विधेयकमाथि हुने छलफलमा प्रशस्त समय दिएर सांसदले काम गर्नुपर्छ, तर सबै त्यसैमा केन्द्रित भई कामजस्तो लाग्दैन ।”

नेपाल विद्यार्थी सङ्घको सदस्यता प्राप्त गरी विसं २०३६ बाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका यादव विसं २०३७ देखि २०५२ सङ्गठनको जिल्ला सभापति, नेपाली कांग्रेसको केन्द्रीय सदस्य, पार्टीको जिल्ला सभापति हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।

सांसदसँग रासस संवादमा उहाँले सांसदले आफ्नो कर्तव्य र जिम्मेवारप्रति सधैँ सजग र सचेत भई सदनमा हुने छलफलमा सहभागी हुनुपर्नेमा जोड दिनुहुन्छ । विधेयकमाथि हुने छलफलका लागि जनप्रतिनिधिले गहन अध्ययन र विश्लेषणसहित प्रस्तुत हुनुपर्छ भन्दै सांसद यादवले संसद् र विषयगत समितिका बैठकलाई नियमित गरिएमा सांसद अन्यत्र नअल्मलिने अवस्थै नआउने धारणा राख्नुभयो ।

सङ्घीय संसदीय लोकतान्त्रिक गणतन्त्र रहेका मुलुकहरूको अन्तर्राष्ट्रिय अभ्यास हेरेर संसद्लाई कसरी मर्यादित तुल्याएर लैजान सकिन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको बताउँदै उहाँ आवेग र आक्रोशमा बोल्ने नभई शान्ति र मर्यादाभित्र रही प्रस्तुत भएमा सदन र सांसदको मर्यादा बढेर जाने तर्क गर्नुहुन्छ ।

दलीय व्यवस्थामा कुन दलका प्रतिनिधिबाट के भनियो र त्यसको कसरी प्रतिवाद गर्ने भन्ने भावनाले प्रेरित भएर आवेग र आक्रोशमा आई बेलाबखत सदनमा बोलेका र दिएका अभिव्यक्ति हटाउनुपर्ने अवस्था सिर्जना गरेको नेता यादवले धारणा राख्नुभयो ।

उहाँले मुलुकले तीन तहका सरकारसहित सङ्घीय शासन व्यवस्थाको उच्चतम अभ्यास गरिरहेको भएता पनि सरकारबीच सहयोग र समन्वयको भावना कमजोर देखिएको विचार प्रकट गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “सरकारबीच सहयोग र समन्वयको ठूलो अभाव छ । सुरुआती दिनमा सिंहदरबारलाई गाउँमा कसरी पुर्याउने भन्ने चुनौती थियो, तर पुग्यो । अहिले तीन तहका सरकारबीच राम्रो सम्बन्ध छैन । यदि सङ्घीयतालाई व्यवस्थित तुल्याएर जान नसक्ने हो भने यस्तो प्रवृत्तिले विकृतिमात्रै दिन्छ ।”

Facebook Comments Box

Share Icon