Share Icon

उमेश दलामी
बाँके(ढकेरी) : पुर्ब-पश्चिम राजमार्ग अन्तरगत बाँकेको ढकेरी नजिक शक्तिशाली विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीका अनुसार शनिबार राती पुर्ब-पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पुर्बमा विष्फोट भएको हो ।

विष्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा पर्छ । स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

राती विष्फोट भएपनि कति बजे भयो ? भन्नेबारे नखुलेको डिएसपी डाँगीले बताए । विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि सडकको एक तर्फको भाग भत्केको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरु फेला परेको डाँगीले बताए । ‘घटनास्थलको अवस्था हेर्दा सडक मुनि विछ्याइएको द्वन्द्वकालिन विष्फोट पदार्थ अहिले आएर विष्फोट भएको हुन सक्ने हाम्रो आशंका छ, यस विषयमा अनुसन्धान भईरहेको छ,’ उनले भने । विष्फोटपछि नेपाली सेना पुगेर पनि अनुसन्धान गरेको जानकारी दिए ।

राप्ती सोनारी-९ ढकेरीका स्थानीय बासिन्दा समेत रहेका पत्रकार कबिन्द्र परियारले पनि द्वन्द्वकालिन समयमा विछ्याइएको विष्फोटक पदार्थ अहिले पड्किएको हुनसक्ने आशंका गरेका छन । ‘विष्फोट हुने समयमा कुनै गाडी परेको भए ठूलो मानवीय क्षति हुँदो रहेछ, यो शक्तिशाली विष्फोट नै हो, सडकमा रहेका कालोपत्रेका टुक्रा त ५० मिटर परसम्म पुगेका छन,’ उनलेे दूरसन्चार डटकमसँग भने ।

तत्कालिन सशस्त्र द्वन्द्वको समयमा पुर्ब-पश्चिम राजमार्गको कोहलपुर-लमही खण्डमा बिद्रोही माओवादीले थुप्रै ठाउँमा माईन विष्फोट गराएको थियो । उक्त सडक खण्डको खैरी खोला नजिक राजमार्गमा बम विष्फोट हुँदा गाडीमा सवार थुप्रै सशस्त्र प्रहरी मारिएका थिए ।

उक्त समयमा तत्कालीन सेनाले सडकको बिच भागमा विछ्याइएका थुप्रै ठाउँका माइनहरु निष्क्रिय पारेको थियो ।

Facebook Comments Box

Share Icon