पहिलेको झाडी अहिले कागती बगैँचा

Share Icon

२५ साउन,दाङ । पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् ।

गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उहाँको दैनिकी फेरिएको छ । चौतिस वर्षिय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गर्नुभएको हो । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताउनुभयो । विसं २०७४ मा यहाँको १० बिघा जमिन भाडामा लिएर व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

धनकुटास्थित वनस्पति उद्यानबाट उन्नत जातका सुन कागती–१ र सुन कागती–२ का तीन हजार बिरुवा खरिद गरी खेती थालेको बताउँदै चौधरीले अहिले बगैँचामा पाँच हजारको हारहारीमा कागतीका बोट रहेका जानकारी दिनुभयो । गत वर्ष दुई क्विन्टल भन्दाबढी बिक्री गरेको जनाउँदै उहाँले यस वर्ष खडेरीका कारण फलेका कागती बढ्न नसके पनि उत्पादनमा भने कमी नभएको बताउनुभयो ।

उत्पादित कागती बिक्रीका लागि बजारको कुनै समस्या नरहेको भन्दै चौधरीले प्रतिकेजी रू एक सय ५० देखि रू रू दुई सयसम्ममा बिक्री गरिरहेको जानकारी दिनुभयो । जग्गा प्रयोग गरेबापत उहाँले वार्षिक रू दुई लाख भाडा तिरिरहनुभएको छ । खेती गर्न थालेको पाँच वर्ष भएको बताउँदै उहाँले राम्रो आम्दानी भइरहेको सुनाउनुभयो । चौधरीका अनुसार यहाँ दुई जनाले पूर्ण र सात जनाले आंशिक रोजगारी पनि पाएका छन् ।

“अहिले कागती बगैँचा फस्टाउँदै गएको छ । खेती गरेको जग्गा सरकारी जमिन हो । देउखुरीको प्राविधिक शिक्षालयको भवनमा बसेपछि जमिन प्राविधिक शिक्षालयलाई दिनुपर्ने भन्दै बगैँचा खाली गरिदिन भनिरहेका छन्”, उहाँले भन्नुभयो, “गरिरहेको व्यावसाय कहाँ लैजानु समस्या भएको छ ।”

“बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो । अहिले क्याम्पसमा पढ्दै परम्परागत खेतीको विकल्पका रुपमा कागती खेती सुरु गरेको हुँ”, चौधरीले भन्नुभयो, “सफल पनि भएको छु । यतिधेरै लगानी गरेर बगँैचा बनाइसके अब कहाँ गएर यो खेती गरुँ ?” यस खेतीका लागि सुरुका वर्ष गढवा गाउँपालिकाले रू तीन लाख र कृषि ज्ञानमाला केन्द्र घोराहीले रू दुई लाख अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो ।

उहाँको यस कागती बगैँचा यस क्षेत्रकै सबैभन्दा ठूलो रहेकाले के कसरी खेती गरिन्छ भन्ने जानकारी लिन, शैक्षिक अवलोकन गर्न विद्यार्थी, सञ्चारकर्मी, सर्वसाधारण, कृषक तथा कृषि क्षेत्रका सरकारी व्यक्तित्वहरु आउने गरेका जानकारी दिनुभयो । नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने समाचार पढेकाले यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको चौधरीको भनाइ थियो ।

कृषि प्रधान हाम्रो देशमा कृषिका अत्यन्तै सम्भावना रहेका भन्दै उहाँले यही माटोमा मेहनत गरे मनग्य आम्दानी गर्नसकिने अनुभव सुनाउनुभयो । यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र तारजाली लगाउने योजना रहेको चौधरीले बताउनुभयो । राम्रो उत्पादन तथा आम्दानी भएमा कागती प्रशोधन केन्द्रसमेत खोल्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो ।

चौधरीले बर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकामा यसलाई राज्यले रोकेर आफ्नै देशमा आधुनिक आयमूलक काममा लगाउनुपर्ने सुझाव दिनुभयो । सरकारले कृषि क्षेत्रमा लागेकालाई अनुदानमा ऋण, किटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालनमा ल्याउने, तालिम, सीपमूलक कृषि कार्यक्रमलगायत रोजगारी केन्द्रीत योजना उपलब्ध गराउन सके वैदशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने चौधरीको भनाइ थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.