तिब्बती भूमिमा सगरमाथाको नक्सा

Share Icon

बाबुराम विश्वकर्मा
सगरमाथा शिखर चुम्ने आरोहीले नेपालको भूमि टेक्नैपर्छ । सगरमाथा शिखरलाई लिएर उत्तरी छिमेकी चीनसँग बेलाबेला नेपालले झमेला झेल्नुपरेको छ । नेपालको एकलौटी र सार्वभौम आधिपत्य कायम रहेको सगरमाथा–चुचुरोको नयाँ उचाइ घोषणामा सन् २०२० मा चीनलाई सामेल गरिएपछि सगरमाथा उचाइ फेरि विवादमा तानियो ।

बेमौसमको बाजा बजाउन नेपाली नेतालाई बेलाबेला रहर लाग्छ । त्यसैको नतिजा हो, सन् २०२० मा चीनसँग मिलेर गरिएको सगरमाथाको संयुक्त उचाइ घोषणा । विश्व समुदायले मान्यता दिएको सगरमाथा चुचुरोको प्रचलित र सार्वभौम उचाइ ८,८४८ मिटर हो । नेपाल र संसारका अधिकांश देशले मान्यता दिएको यो उचाइलाई विस्थापित गर्न नयाँ उचाइ घोषणा गरिएको थियो ।

८ डिसेम्बर २०२० मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेश मन्त्री वाङ यीले संयुक्त भिडियो सम्मेलन गरेर संसारको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरे । नेपालसँग मिलेर सगरमाथाको नयाँ उचाइ घोषणा गर्न राजी भएको चीनले यसअघि गरेका तीनवटा उचाइ मापनमा एउटै नतिजा आएको थियो । चीनले मापन गरेको सगरमाथाको उचाइ ८,८४४.४३ मिटर थियो । चाइनिज ब्युरो अफ सर्भे एन्ड म्यापिङले सन् १९७५ मा पहिलो पटक निकालेको सगरमाथाको उचाइ र सन् २००५ मा चिनियाँ स्टेट ब्युरो अफ सर्भेइङ एन्ड म्यापिङले गरेको मापनको नतिजा एउटै थियो । सन् २०२० मा चीनले तेस्रो पटक गरेको मापनमा पनि पुरानै नतिजा दोहोरिएको थियो । संयुक्त उचाइ घोषणाअघि चीनले सगरमाथाको उचाइ ८,८४४.४३ मिटरलाई आधिकारिक मानेको थियो ।

सगरमाथाको नयाँ उचाइ घोषणा गरिएपछि चीनको सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’ ले सन् २०२० मा सगरमाथा तिब्बती भूमिमा रहेको नक्सा सार्वजनिक गरेको थियो । तर, त्यसको नेपाल र विश्वभरि नै आलोचना गरिएको थियो । ‘ग्लोबल टाइम्स’ ले सार्वजनिक गरेको सगरमाथाको विवादास्पद नक्साको विरोध भएपछि त्यस पत्रिकाले त्यो नक्सा हटाएर क्षमा मागेको थियो । चीनका नेता माओत्सेतुङको पालामा पनि सगरमाथालाई तिब्बती भूमिमा पारेर चीनले नक्सा सार्वजनिक गरेको थियो । तर, त्यो नक्सालाई विश्व समुदाय र नेपालले मान्यता दिएन । फेरि माओकै पालाको जस्तो नक्सा चीनको सरकारी मिडियामार्फत सार्वजनिक भएपछि त्यसले नेपाल र नेपालीलाई झस्कायो ।

नेपाली भूमिको सगरमाथा शिखरको उचाइ घोषणामा चीनका विदेशमन्त्रीलाई किन सहभागी गराइयो ? यो विषयलाई तत्कालीन नेकपा सरकारले प्रष्ट पारेन । नेकपा नेतृत्वको तत्कालीन सरकारको चीनप्रतिको रुझानका कारण चीनलाई सगरमाथाको उचाइ घोषणामा सहभागी गराइएको अनुमान छ । हुन पनि १२ र १३ अक्टोबर २०१९ मा भएको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुई देशले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो ।

पानीढलो सिद्धान्तअनुसार, सगरमाथाको चुचुरोसहित दक्षिणतर्फको भाग नेपालको र उत्तरतर्फको चीनको स्वामित्वमा रहने गरी सन् १९६१ मा गरिएको नेपाल चीनबीचको सन्धिमा सगरमाथामाथि नेपालको आधिपत्य कायम भएको हो । सीमा विज्ञहरूका अनुसार सगरमाथाको उत्तरी मोहडाभन्दा दक्षिणी मोहडा अग्लो छ । तिब्बततिरबाट सगरमाथा आरोहण गर्दा पनि नेपालको चुचुरो नचुमी सगरमाथा आरोहण पूरा हुन सक्दैन । अरू मुलुकका मात्रै होइन, चीनका नागरिकहरूले पनि सगरमाथा आरोहण नेपालतिरबाट गर्न सहज मानेको देखिन्छ । चीनतिरबाट सगरमाथा आरोहण गर्न सकिने विकल्प भए पनि चीनका नागरिकका लागि नेपालको मार्ग मुख्य रोजाइ बन्नु खुसीको कुरा हो । चीनलगायत विश्वभरिका आरोहीका लागि नेपाली मार्गबाट सगरमाथाको आरोहण पहिलो रोजाइ बन्ने गरेको छ । पर्यटन विभागको आँकडाअनुसार, सन् २०२३ को वसन्तकालीन आरोहणको अनुमति लिने आरोहीमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् भने दोस्रोमा अमेरिकी आरोही ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा गएका बीपी कोइरालाले सगरमाथामाथिको नेपालको स्वामित्वको अडान प्रस्ट राखेर नेपाल फर्किए । कोइराला नेतृत्वको नेपाली प्रतिनिधिमण्डल ६ देखि २१ मार्च १९६० सम्म चीन भ्रमणमा थियो । बीपी चीनबाट फर्केको एक महिनापछि चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपालको औपचारिक भ्रमण गरेका थिए । उनले २८ अप्रिल १९६० मा सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेपाल र चीनबीचको सगरमाथा विवाद मिलेको घोषणा गरेका थिए । चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमणमा सगरमाथा नेपालकै भएको स्वीकार गरे पनि सगरमाथा शिखरसम्बन्धी विवाद मिलेको थिएन । नेपाल र चीनका अधिकारीहरूको ४ अक्टोबर १९६१ मा चीनको राजधानी बेइजिङमा भएको बैठकले त्यतिबेला जारी सगरमाथा विवाद निरुपण गरेको हो । बैठकपछि राजा महेन्द्र र चिनियाँ राष्ट्रपति लिउ साओ चीबीच ५ अक्टोबर १९६१ मा चीनमा भएको नेपाल–चीनबीचको सन्धिले सगरमाथालाई दुई देशको सीमा मान्दै चुचुरोमा नेपालको आधिपत्य कायम गरेको थियो ।

तत्कालीन नेपाली नेतृत्वको अथक प्रयासपछि नेपालको स्वामित्व कायम भएको सगरमाथा शिखर संसारकै रहस्य बनेको छ । विश्वको अभिरुचिको विषय भएकाले सगरमाथाको उचाइ मामिलामा बेलाबेला विवादास्पद तथ्य सार्वजनिक हुने गरेका छन् । सन् २०१९ मा इटालीको टोलीले जीपीएस प्रणालीबाट गरेको सगरमाथाको मापनले यसको उचाइ ८,८५० मिटर देखाएको थियो । तर, त्यसलाई नेपाल र विश्व समुदायले मान्यता दिएन । चीनतिरबाट सगरमाथा आरोहण गरेका आरोहीलाई चीनले यसअघि ८,८४४.४३ मिटर अंकित प्रमाणपत्र दिने गरेको थियो भने नेपालबाट आरोहण गर्ने आरोहीले ८,८४८ मिटर अंकित प्रमाणपत्र पाउने गरेका थिए । चीन र नेपालले संयुक्त उचाइ घोषणा गरेपछि दुवैतिरबाट आरोहण गर्नेले ८,८४८.८६ मिटरकै प्रमाणपत्र पाउने बाटो खुलेको छ ।

विदेशीहरूले सगरमाथालाई पन्ध्रौं चुली पनि भन्ने गरेका छन् । संसारका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमा छन् । सन् १९२१ मा रोयल जोग्राफिकल सोसाइटीका सर्भेयर सर जर्ज एभरेस्टको नाममा सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ राखिएको थियो । नेपाली नाम सगरमाथाचाहिँ इतिहास शिरोमणि बाबुराम आचार्यले राखेका हुन् ।

नेपालतिरबाट सगरमाथा आरोहण गर्नेहरूबाट देशले हरेक वर्ष ठूलो धनराशि प्राप्त गर्ने गरेको छ । एक जना आरोहीले सगरमाथा आरोहण गर्दा औसत ५० हजार अमेरिकी डलर खर्च गर्ने अनुमान छ । पृथ्वीको सबैभन्दा अग्लो चुचुरो भएकाले सगरमाथाबारे वैज्ञानिक अनुसन्धान गर्नेहरूका लागि पनि यो विशिष्ट रुचिको विषय बनेको छ । उच्च भूगोल तथा हिमाल, जलवायु चक्र र जैविक प्रणालीको अध्ययन गर्न संसारका वैज्ञानिकहरू सगरमाथा क्षेत्रमा आउने गरेका छन् । त्यसैले सगरमाथाको महत्त्व नेपालमा मात्रै होइन, एसिया र संसारभरि नै उच्च छ । देशको लागि ज्यादै महत्वपूर्ण राष्ट्रिय गौरवको प्रतीक बनेको सगरमाथाको उचाइ घोषणामा चीनलाई सहभागी गराएर नयाँ विवाद सृजना गरियो ।

सगरमाथाको उचाइ मापनजस्तो राष्ट्रिय महत्त्वको विषयमा सार्वजनिक विमर्श र सर्वपक्षीय छलफल गरिएन । सगरमाथाको उचाइ मापनमा चीनलाई सामेल गर्नेबारे संसद्मा समेत छलफल गरिएन । सरकारको आन्तरिक तयारीका आधारमा सगरमाथाको उचाइ मापन गरेर चीनसँग मिलेर घोषणा गरियो । तर, नयाँ उचाइ पहिले कायम भएको उचाइभन्दा जम्मा ८६ सेन्टिमिटर मात्रै बढी देखिएको छ । सगरमाथाको पुरानो उचाइभन्दा थोरै अन्तर देखिएको नयाँ उचाइ प्राविधिकभन्दा बढी राजनीतिक र कूटनीतिक स्टन्टबाजीजस्तो लाग्छ । किनभने यसअघि भारतीय प्राविधिकहरूले मापन गरेको उचाइ विस्थापन गर्न चीनसँग साझेदारी गरेको कतिपयको बुझाइ छ । (प्रकाशोन्मुख किताब ‘भूराजनीतिको भार’ बाट)

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.