Share Icon

निष्णु थिङ
चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखिकै हो। पछिल्लो समय भने यो सम्बन्धमा खासगरी चिनियाँ सौम्य शक्तिको नीति हावी भएको देखिन्छ। सन् २०१५ को भूकम्प र संविधान जारी भएपछिको अवस्थामा नेपालमा प्रभाव ह्वात्तै बढाएको चीनको सौम्य शक्ति यहाँका विभिन्न क्षेत्रमा कार्यान्वयन भइरहेको छ। अनि त्यो संस्कृति, शिक्षा, पहिले कम्युनिस्ट अनि अहिले सी चिनफिङ विचारधारा, धर्म, व्यापार, भाषा, पर्यटन, अध्ययन–अनुसन्धान, प्राज्ञिक तह, चीन अध्ययन केन्द्र, विश्वविद्यालय, पुस्तक प्रकाशनदेखि सामान्य दैनिक जीवनसम्मका आयाममा प्रतिविम्बित छ।

होउ यान्छी राजदूत भएर आएको दुई महीनामै चिनियाँ दूतावासद्वारा १०७औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘चरी जस्तै उड्न पाए, गगनको तलतिर’ बोलको नेपाली गीतमा नृत्य गरेर नेपालीको ध्यान तानिन्। यो सौम्य शक्तिको उत्कृष्ट प्रयोग हो।

चीनले नेपालमा उच्च शिक्षाका माध्यमबाट पनि काम गर्दै छ। एमडीपीआईले प्रकाशन गरेको सोसाइटिज जर्नलमा प्रिय गौतम, बाबा सिंह र विजयकुमार चट्टुले लेखेको ‘हाइअर इजुकेशन एज अ ब्रिज बिट्वीन चाइना एन्ड नेपाल म्यापिङ एजुकेशन एज सफ्ट पावर इन चाइनिज फरेन पोलिसी’ लेखमा चिनियाँ सौम्य शक्ति वृद्धि गर्न नेपालमा उच्च शिक्षाका माध्यमबाट कसरी काम हुँदै छ भन्नेबारे गहिरो विवेचना गरिएको छ।

अनुसन्धाताका अनुसार चीनले नेपालमा ‘साना हातहरू’, ‘नोइङ चाइना बेटर’, ‘शैक्षिक रेशम मार्ग’ र ‘बीआरआई छात्रवृत्ति’ जस्ता कार्यक्रम चलाएको छ। चीनका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारी कार्यक्रम प्रभावकारी हुँदै गएको निष्कर्ष छ। उदाहरणका लागि सन् २०१८ मा ६ हजार ४०० नेपाली विद्यार्थीले चिनियाँ विश्वविद्यालयमा पढ्न त्यहाँको सरकारबाट छात्रवृत्ति पाएका थिए (स्रोत: उही)।

चीन सरकारले सन् २००४ देखि संसारभर कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गरेर चिनियाँ संस्कृति र मन्डारिन भाषालाई प्रोत्साहन गरिरहँदा नेपालमा पनि काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय मार्फत काम भइरहेको छ। काठमाडौंका विद्यालयमा मन्डारिन भाषा पढाइन थालेको छ। भाषाशिक्षकको सेवासुविधा चिनियाँ दूतावासले नै उपलब्ध गराउँछ।

त्रिविको केन्द्रीय पुस्तकालयमा ‘चाइनाज् तिब्बेत रीडिङ रुम’ छ। त्रिविमै ‘काठमाडौं अनुसन्धान तथा अध्ययन केन्द्र चाइनिज एकेडेमी अफ् साइन्सेज्’ उद्घाटनको तयारी हुँदै छ।

चीनले नेपालमा धेरै चीन अध्ययन केन्द्र खोलेर सीमावर्ती क्षेत्रमा काम गरिरहेको भनी भारतको लोकसभामा बहस समेत उठेको थियो। बीआरआईलाई चिनियाँ सौम्य शक्तिकै रूपमा लिने गरिन्छ। नेपालले सन् २०१७ मै हस्ताक्षर गरेको बीआरआई अन्तर्गतका परियोजना यहाँ सञ्चालनमा छन्। चिनियाँ पक्षले भर्खरै उद्घाटित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बीआरआई अन्तर्गतको परियोजना भनी विज्ञप्ति निकालेको थियो। यद्यपि नेपाली पक्षले यसलाई स्वीकार गरेको छैन।

चाइनिज एकेडेमीले केही वर्षअघि नै नेपाल प्रज्ञा प्रतिष्ठानसित सहकार्यको औपचारिक सहमति गरिसकेको छ। प्रज्ञा प्रतिष्ठानमा दुई देशका संयुक्त साहित्यिक कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन्। दुईतर्फी आदानप्रदान र भ्रमणका कार्यक्रम भइरहन्छन्। गत वर्ष प्रतिष्ठानकै आयोजनामा भएको ‘रेशम मार्ग साहित्य’ को विमर्शमा विद्वान्‌हरूले कार्यपत्र समेत प्रस्तुत गरेका थिए। अहिले चीन अध्ययन केन्द्रले सी चिनफिङ: द गभर्नेन्स् अफ चाइना पुस्तकको पहिलो भागको नेपाली अनुवाद प्रकाशन गरिसकेको छ भने बाँकी दुई भाग अनुवादको चरणमा छन्।

यस बाहेकका थुप्रै चिनियाँ पुस्तक पनि नेपालीमा अनुवाद तथा प्रकाशनको काम हुँदै छ। चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा र साहित्य पढाइन्छन्। त्यस मार्फत भाषिक दक्षता हासिल गरेका र नेपाल बुझेकाहरूलाई त्यहाँको सरकारले नेपाल मामिला हेर्ने जिम्मा दिन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीले यहाँका कम्युनिस्ट पार्टीहरूलाई ‘सी विचारधारा’ को प्रशिक्षण दिंदै आएको छ। प्रत्येक वर्ष यहाँ चिनियाँ चलचित्र महोत्सव पनि गरिन्छ।

विदेश नीतिकै हिस्सा
सौम्य शक्तिको अवधारणा जोसेफ एस.नाईले सन् १९८० को दशकमै ल्याएका हुन्। उनको परिभाषामा सौम्य शक्ति त्यस्तो क्षमता हो जसले बल, दबाब वा आर्थिक शक्ति विनै अरूलाई आफूले चाहे जस्तो गर्ने बनाउन सक्छ (सफ्ट पावरः मिन्स टु सक्सेस इन वर्ल्ड पोलिटिक्स, २००९)।

सयद अली आकाशले पनि आफ्नो शोधग्रन्थ ‘पिस थ्रू सफ्ट पावरः एन अनालाइसिस अफ चाइनिज फरेन पोलिसी–२०१८’ को परिचयमा सैन्य बल र युद्ध विनै अरूलाई आफूले चाहे जस्तो बनाउन सक्नुलाई सौम्य शक्ति उल्लेख गरेका छन्।

चीनमा सौम्य शक्तिको चर्चा तङ स्याओफिङ आएसँगै हुन थालेको हो। त्यही वेलादेखि चिनियाँ कम्युनिस्ट पार्टीका माथिल्लो तहका बैठकमा सौम्य शक्तिबारे यथेष्ट बहस भई यसलाई विदेश नीतिको महत्त्वपूर्ण पक्षका रूपमा समेट्न थालियो (फन्डामेन्टल इस्यूज इन प्रेजेन्ट डे चाइना: देङ स्याओपिङ, १९८७)। तङको ‘हाइड आवर क्यापासिटिज एन्ड बाइड आवर टाइम, रिमेन फ्री अफ एम्बिशन्स, एन्ड नेभर क्लेम लिडरशिप’ विदेश नीति लामो समय रह्यो।

त्यस्तै, चिनियाँ पूर्व राष्ट्रपति हु जिन्ताओले सांस्कृतिक सौम्य शक्तिको नीति अवलम्बन गरेका थिए। यसमा उनले मुख्य दुई उद्देश्य अघि सारेका थिए। पहिलो– राष्ट्रिय एकता मजबूत बनाउन, सिर्जनशीलता विकास गर्न र जनताको आध्यात्मिक जीवनको आवश्यकता पूरा गर्न। दोस्रो– अन्तर्राष्ट्रिय परिदृश्यमा चीनको प्रतिस्पर्धात्मक क्षमता सुदृढीकरण हेतु राष्ट्रिय शक्ति व्यापक बनाउन (सीसीपी १७औं कंग्रेस, १५-२१ अक्टोबर २००७)। सोही १७औं कंग्रेसमा उनले सौम्य शक्तिमा लगानी बढाउनुपर्ने बताएका थिए। अहिलेका राष्ट्रपति सी चिनफिङले त तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै सौम्य र गरम दुवै कूटनीतिलाई शक्तिशाली बनाउने नीति लिएका छन्।

जोसेफ एस.नाईले सौम्य शक्तिका तीन वटा स्रोत किटान गरेका छन्– राजनीतिक मूल्यमान्यता, संस्कृति र विदेश नीति। चिनियाँ विद्वान्‌हरू नाईले अघि सारेका यिनै स्रोत, सिद्धान्त र अवधारणालाई आफ्ना सन्दर्भमा रूपान्तरण गर्नुपर्ने ठान्छन् र यसै अनुसार परिमार्जन पनि गर्दै छन्। छिन ली र भर्नर वर्मले नाईले अघि सारेका तीन स्रोतलाई पाँच वटामा बढाएका छन्। पहिलो, सांस्कृतिक आकर्षण; दोस्रो, राजनीतिक मूल्यमान्यता; तेस्रो, विकासको मोडल; चौथो, अन्तर्राष्ट्रिय संघसंस्था; पाँचौं, आर्थिक आसक्ति वा प्रलोभन (बिल्डिङ चाइनाज सफ्ट पावर फर अ पीसफुल राइज, २००९)।

अहिलेका राष्ट्रपति सीले चिनियाँ सपनाहरूलाई ‘ब्रान्डिङ’ गर्दै तिनको प्राप्तिका लागि सौम्य शक्तिको प्रयोगमा जोड दिंदै आएका छन् (चीनको सांस्कृतिक सौम्य शक्तिलाई बढाऔं, डिसेम्बर ३०, २०१३)। अर्थात् चीनले देश, काल र परिस्थिति अनुसार आफ्नो सौम्य शक्ति बढाउँदै लगेको छ।

भूराजनीतिमा निगरानी
समग्रमा चीनले यति वेला आफ्नो कूटनीति सफल बनाउन यहाँ सौम्य शक्तिको भरपूर उपयोग गरिरहेको छ। विश्वशक्तिका रूपमा उदाउँदै गर्दा ऊ आफ्नो छरछिमेकमा के भइरहेछ भन्नेमा निकै चनाखो देखिन्छ। यसबाट चीन आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच नआओस् भनेर नेपालमा बढिरहेको भूराजनीतिक खिचातानी र चलखेलप्रति सचेत रहेको थाहा हुन्छ।

विश्वशक्तिका यहाँ आआफ्नै स्वार्थ छन्। तिनलाई नेपालले आफ्नो हित प्राथमिकतामा राखेर व्यवस्थापन गर्न जरुरी छ। आजभन्दा ४० वर्षअघि कमजोर अवस्थामा रहेको चीनले विश्वशक्तिहरूका सबैखाले सहयोग लिएर देश विकास गर्‍यो। आधुनिक प्रविधि भित्र्याएर आर्थिक क्षमतामा चमत्कार ल्यायो, दक्ष जनशक्ति तयार गर्‍यो।

नेपालले पनि त्यसरी नै कुनै विश्वशक्तिको गठबन्धनमा सहभागी नभई देश विकासका लागि सरसहयोग लिन र आफ्नो क्षमतामा व्यापक सुधार गर्न आवश्यक छ। यसरी नै आफ्नो सौम्य शक्तिको भरपूर उपयोग गर्न सके नेपाललाई विकासको चोला फेर्न दुई–तीन दशक नै पर्याप्त छ।

Facebook Comments Box

Share Icon