चिनियाँ व्यापारीको धन्दा: हङकङबाट सुन तस्करी, काठमाडौंबाट यार्सागुम्बा

Share Icon

काठमाडाैं । राजस्व अनुसन्धान विभागले एक हप्ताअघि बरामद गरेको एक क्वीन्टल सुन कसको हो भन्ने अझै पत्ता लगाउन सकेको छैन । विभागको टोलीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको उक्त सुन ट्याक्सीबाट बरामद गरेकाे थियाे । त्यसदिन ट्याक्सी चालकलगायत तीन जनालाई पनि पक्राउ गरेको थियो ।

सुन प्रकरणबारे अनुसन्धान तीव्र पारेको विभागले हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ । सुन प्रकरणबारे सुरुवाती चरणमा विभागले आफैँ अनुसन्धान गरेको थियो । तर, अनुसन्धान जटिल देखिएको र संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीको समेत सहयोग मागेको छ ।

हाल विभागले समातेको सुन प्रकरणबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोमा कार्यरत एसपी कृष्ण पंगेनीलाई खटाएको छ । पंगेनी सोमबारदेखि खटिएका छन् । विभागले पक्राउ गरेका मध्ये हालसम्म सुनका मालिकमध्येका एक जना चिनियाँ नागरिक जिक्वाङ लिङ रहेको दाबी गरेको छ ।

उनलाई ४ साउनमा नेपाल छाडेर चीन भाग्न लाग्दा विमानस्थलबाट विभागकाे टाेलीले पक्राउ गरेको थियो । सुन रेडी ट्रेड कम्पनीको नाममा काग्रोमामार्फत नेपाल भित्रिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा रेडी ट्रेड कम्पनी दोलखाका रामकुमार भुजेलको नाममा दर्ता रहेको र त्यसमार्फत सबै कारोबार भोजपुरका हर्कराज राईले गर्ने गरेको खुलेको छ ।

उनीहरूसमेत पक्राउ परिसकेका छन् । तर, हालसम्मको अनुसन्धानले उनीहरू भरिया मात्रै रहेको देखिएको छ । विभागले कार्गोमार्फत आएको सुन भन्सार कार्यालको एक्सरे मेसिनहुँदै पास हुनुलाई मिलेमतोको आशंका गरेको छ ।

विभागले सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्स रे प्राविधिक सरोज श्रेष्ठलाई पक्राउ गरेको छ ।

यस्तै, भन्सार एजेन्टहरू सिन्धुपाल्चोकका यादव पराजुली, चितवन मेघौलीका सुदर्शन गौतम र झापा गौरादहकी रुक्मिला सुब्बा पक्राउ परेका हुन् ।

यो प्रकरणमा यसअघि नै भारतीय नागरिक थिप्तेन छिरिङ, दोलखाका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, चितवनका अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र राजेन्द्र राई पक्राउ परेका थिए ।

सुन हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत अटोपार्ट्स नाममा कार्गो गरेर नेपाल ल्याइएको थियो ।

सुनको यकिन परिमाण अझै आइसकेको छैन । राष्ट्र बैंककाे टक्सार विभागले जाेख्दा ब्रेकशुसहित १ सय ५५ केजी तौल देखिएको विभागले जनाएको छ ।

त्रिदेशीय व्यापारीको कनेक्सन
विभाग स्रोतका अनुसार करिब १ सय किलो सुन प्रकरणमा चिनियाँ व्यापारी, नेपाली र भारतीय व्यापारीको समेत संलग्नताको आशंका गरिएको छ ।

करिब १ अर्ब रुपैयाँ बराबरको सुन भएका कारण ठूला व्यापारी नै संलग्न भएको आशंका विभागको छ । विभाग स्रोतले भन्यो, ‘अहिले नै धेरै कुरा खुलेको छैन । ठूलो लगानी भएका कारण नेपाल, चीन र भारतका व्यापारीहरूकै संलग्नता छ कि भन्ने हाम्रो आशंका छ । हामी अनुसन्धानकै चरणमा छौँ ।’

भारतीय नागरिक र एक जना चिनियाँ नागरिकसमेत पक्राउ पर्नुले कुनै नेपाली व्यापारीको भूमिकासमेत हुन सक्ने आशंका विभागको छ । हाल प्रक्राउ परेका नेपालीहरू भने भरिया मात्रै हुन् । रेडी ट्रेड कम्पनीका मालिक भनिएका दोलखाका दिलीप भुजेललाई भने ‘डमी’को रूपमा प्रयोग गरेको खुलेको छ ।

विभाग स्रोतका अनुसार उक्त सुन नेपालहुँदै भारत लैजान खोजिएको देखिएको छ । रेडी ट्रेडमार्फत हङकङबाट करिब ४ सय किलो अटोपार्ट्स आयात भएको देखिएको छ ।

चिनियाँ व्यापारीले पछिल्लो समय सुन तस्करी गर्ने र त्यसबाट आएको रकमले नेपालबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा खरिद गरेर लिने गरेको खुलेको छ । यार्सागुम्बाकाे मूल्य हाल प्रतिकिलाे १५ लाखदेखि २५ लाखसम्म पर्ने गरेकाे छ ।

यसअघिसमेत चीनहुँदै भेपमार्फत सुन तस्करी गर्ने गरेको खुलेको थियो । उक्त सुनसमेत भन्सारकै कर्मचारीको मिलोमतोमा चोरी भएको थियो ।

हाल विभागले नियन्त्रणमा लिएको १ सय किलो सुनसमेत भन्सार कार्यालयकै कर्मचारीको मिलोमतोमा पास भएको खुलेको छ । भन्सारका प्रवक्ता अम्बिकाप्रसाद खनालले एक्सरे मेसिनमा शंकास्पद देखिँदा पनि कर्मचारीले पास गरेको स्वीकार गरे ।

उनले भने, ‘एक्सरे मेसिनमा केही शंकास्पद वस्तु देखिएको छ । तर, कर्मचारीले त्यसलाई राम्ररी हेर्नुपर्नेमा छोडेको देखिन्छ । बाहिर स्कुटरको ब्रेकशुजस्तै देखिएको भएर काटेर हेर्नुपर्ने भएकाले त्यत्तिकै पठाएको हुन सक्छ । बाँकी त विभागको अनुसन्धानले देखाऊला ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.