Share Icon

– मणिराज गौतम
३ साउन,मनहरी ।मकवानपुरमा दैनिक रुपमा सवारी दुर्घटना बढिरहेको छ । साँघुरो बाटो र जीर्ण सडकका कारण अधिकांश दुर्घटना हुने गरेको यातयात व्यवसायीको भनाइ छ ।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै मकवानपुरका सडकखण्डमा तीन सय ६३ सवारी दुर्घटना भएका छन् । गत वर्ष जिल्लामा सवारी दुर्घटनाबाट ६१ ज्नाले ज्यान गुमाएका छन् । एक सय ८७ मोटरसाइकल, जीप÷कार ५१, ट्र्याक्टर ४८, यात्रु बहाक बस ३३, टेम्पो १६, टिपर, माइक्रो, साना सवारी साधनलगायत २८ वटा गरी तीन सय ८७ सवारी साधन दुर्घटनामा परेका जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सवारीसाधन दुर्घटनामा परी दुई सय पाँचजना गम्भीर घाइते भएका छन् भने तीन सय ६५ जना सामान्य घाइते भएका छन् । गत आवमा सवारी दुर्घटना परेर रू दुई करोड ५७ लाख ७६ हजार बराबर सवारी साधनको क्षति भएको प्रमुख आचार्यले बताउनुभयो ।

दुर्घटना हुने सवारीको स्थिति हेर्दा तीव्रगतिमा एक सय ४१ सवारीसाधन, यान्त्रिक गडबढमा ५० सवारी साधन, चालकको लापरबाहीबाट १४ सवारी साधन, ओभरटेक गर्ने आठ सवारी साधन र मापसेबाट १२ सवारी साधन दुर्घटना भएको उहाँको भनाइ थियो ।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार चालकको लापरबाही, ओभरटेक, तिव्रगती, मोबाइल फोन तथा सवारीको यान्त्रिक गडबढीले गर्दा दुर्घटना बढेको बताइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकासँग जोडिएको यस सडकखण्डमा मात्र गत आवमा ९० वटा सवारी दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने दुई सय ९० जना घाइते भएका छन ।

पूर्व–पश्चिम रामजमार्गको हेटौँडा खण्ड साँघुरो र जीर्ण सडकले दुर्घटनाको जोखिम बढेको छ । राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिका पर्दछन् । सडक खण्डको करिब २५ किलोमिटर क्षेत्र हेटौँडामा पर्दछ भने १५ किलोमिटर मनहरि गाउँपालिकाभित्र पर्दछ । दक्षिण तर्फबाट बाराको अम्लेखगंज हुँदै हेटौँडा–१५ चुरियामाईबाट यो सडक मकवानपुर प्रवेश गर्दछ भने पश्चिम तर्फबाट लोथर पुलसम्म पुगेर सिमा समाप्त हुन्छ । लोथर पुल कटेर पूर्व पश्चिम राजमार्ग सडक चितवन प्रवेश गर्दछ । मकवानपुरतर्फ भने सडक साँघुरो अवस्थामा रहेको र हालसम्म विस्तार हुन सकेको छैन ।

Facebook Comments Box

Share Icon