Share Icon

३ साउन,रसुवा । सवारी साधन उपयोग गर्दा हुनसक्ने जोखिम न्यून गर्न रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ ।

यात्रा गर्नुअघि सवारी साधन चढ्दा र ओर्लदा यात्रुले पालना गनर्सपर्ने कुरा, चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार तथा नीति नियमका विषयमा रसुवा ट्राफिक प्रहरीले विद्यालयस्तरसम्म जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा ७० विद्यार्थी, नौ सय ९५ व्यवसायी तथा सवारी चालक एवं परिचालक तथा एक हजार तीन सय ३४ सर्वसाधारण सहभागी थिए ।

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले एक सय ५५ पटक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट छ हजार नौ सय चार जना लाभान्वित भएका जिल्ला ट्राफिक इञ्चार्ज प्रकाश पाण्डेयले जानकारी दिनुभयो । यस्तै गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार तीन सय २५ चालकलाई कारबाही गरिएको छ । कारबाही वापतको रु ५४ लाख ८८ हजार शुल्क राज्य कोषमा दाखिला गरिएको उहाँले बताउनुभयो ।

कारबाहीमा पर्नेमा दुई हजार आठ सय आठ ट्रकका चालक, एक सय ९९ बसका चालक, एक हजार एक सय ३४ कार र जीपका चालक, तीन ट्र्याक्टरका चालक, एक हजार एक सय ८१ मोटरसाइकल चालक रहेका पाण्डेयले बताउनुभयो । गत आर्थिक वर्षमा १६ वटा सानाठूला सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका थिए ।

Facebook Comments Box

Share Icon