‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

Share Icon

२६ असार,टीकापुर । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गर्नुभएको छ ।

पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थाल्नुभएको छ । “मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु”, उहाँले भन्न्ुभयो “मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु ।”

सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा कार्यरत हुनुहुन्छ । साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको उहाँको भनाइ छ । “बिक्री पनि फेसबुक र टिकटकबाट भइरहेको छ”, उहाँले भन्नुभयो, “मैले बनेका सामान फेसबुक तथा टिकटकमा राख्छु, भिडियो पनि हाल्छु, अनि माग आउँछ ।”

पुष्पाले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गर्नुभएको छ । मानिसले बढी खर्च गर्ने भनेकै लाउन र खानमा हो । नयाँ डिजाइनका पहिरन लगाउन, मीठो खान सबैलाई मनपर्छ । मानिस खानाका विभिन्न परिकार खान्छन्, लगाउने लुगाकपडा तथा गहना, चुरापोतेजस्ता सामान पनि नयाँ फेसनका मन पराउँछन् । पछिल्लो समय महिला सामाजिक सञ्जालको प्रयोग गरेर नयाँ–नयाँ सीप सिक्न थाल्नुभएको छ ।

विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपथ्र्यो । तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो । तर पछिल्लो समय परिस्थिति बदलिएको छ । इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरहनुभएको छ । टीकापुरकै कृष्णा भण्डारीले केही वर्षअघि केही गरौँ भनी धनगढीमा गएर १० दिन पोते बुन्ने तालिम लिनुभयो । “तालिमपछि मैले पोते बुनेर यहाँकै पसलमा बिक्री गर्न थालेँ, खपत राम्रै हुन थाल्यो”, कृष्णाले भन्नुभयो, “केही वर्षअघि सिकेको फेसन आजभोलि चल्दैन, त्यसैले नयाँ डिजाइनका पोते बुन्नुपरेमा टिकटक र युट्युब हेर्ने गरेकी छु ।”

कृष्णाले पनि चुरापोते, बरमालाका सबै सामान आफँैले उत्पादन गरेर बिक्री गर्ने गर्नुभएको छ । पेसाले शिक्षक रहनुभएकी उहाँले घरमै पसल सञ्चालन गर्नुभएको छ । उहाँले आफूले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने, विभिन्न पालिकामा प्रशिक्षण दिने गर्नुभएको छ । “विद्यालयबाहेकको समय सीप विकासमा खर्च गर्छु । सयौँ महिलालाई चुरापोते, बरमाला र स्वीटर बुन्न सिकाएकी छु”, उहाँले भन्नुभयो, “अरुले उत्पादन गरेको सामान आफूले किनिदिनेसमेत गरेकी छु ।”

सामाजिक सञ्जालको प्रयोगका फाइदा–बेफाइदा दुवै छन् । सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ । चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन् ।

टीकापुरकी अर्की व्यापारी ममता न्यौपानेले पनि बुनाइका धेरै डिजाइन युट्युब तथा टिकटकबाट सिक्ने गर्नुभएको छ । फेन्सी कपडा पसल सञ्चालन गरिरहुनभएकी ममताले पोते, माला र स्वीटर बुन्ने र बिक्री गर्ने गर्नुहुन्छ । “मैले पनि नयाँ पहिरन र फेसनका स्वीटर तथा माला युट्युब र टिकटकबाट सिक्ने गरेकी छु”, उहाँ भन्नुहुन्छ, “यो मोबाइल त धेरै उपयोगी रहेछ । यसमा नभएको केही रहेनछ । यसलाई चलाउन जानेमा धेरै कुरा सिक्न पाइने रहेछ ।”

लामो समयदेखि सिलाइकटाइ व्यवसाय गरिरहनुभएकी टेलर व्यवसायी इन्द्रा चौधरीले पनि सामाजिक सञ्जालको भरपुर सदुपयोग गर्नुभएको छ । उहाँले नयाँ फेसनका लुगा सिलाउनुपर्दा मोबाइलको सहायतामा युट्युबबाट हेरेर सिक्ने गर्नुभएको छ । “सुरुमा ससुराले सिलाइ पसल सञ्चालन गर्नुभएकाले मैले उहाँबाटै सीप सिकेकी हुँ”, उहाँले भन्नुभयो, “आजभोलि नयाँ फेसनका लुगा सिलाउनुपर्छ । नयाँ डिजाइनका लुगा छिट्टै फैलन्छन्”, इन्द्राले भन्नुभयो, “ग्राहकले जस्तो फेसन चाहियो भन्छन्, उस्तै सिलाउन सक्छु । कसैलाई फिर्ता पठाएको छैन । मोबाइलमा हेर्छु अनि यस्तै बनाउन सक्छु ।”

हरेक प्रविधिका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । अधिकांश मानिस मोबाइल तथा इन्टरनेटमा भुल्दा काम नलाग्ने सामग्री हेरेर भुल्न हुँदैन । मोबाइलको गलत प्रयोग गर्दा दुःख पाएका, समय बर्बाद गरेका पनि धेरै छन् । कुनै पनि प्रविधि वा मोबाइल चलाउँदा आफूलाई चाहिने कुरामात्र हेर्नु आवश्यक छ । शिक्षक अमर चौधरी इन्टरनेटमा मानिसलाई आवश्यक कुरा हेर्ने र सिक्ने गरेमा जीवनलाई व्यवसायी बन्न सघाउने बताउनुहुन्छ । “मोबाइलको गलत लत लागेका पनि धेरै छन्, यी महिलाले जस्तै मोबाइलको सही प्रयोग गर्न आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल तथा प्रविधिको सही सदुपयोग गर्न आवश्यक छ । सही सदुपयोग गरेमा सामाजिक सञ्जालमा धेरै काम लाग्ने कुरा पनि हुन्छन् ।”
–––

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.