Share Icon

२४ असार,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौंँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट) मा सम्बोधन गरी खुकुलो गरेर जाँदा अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

“मौद्रिक नीति खुकुलो हुने वित्तिकै अर्थतन्त्र चलायमान भएर सहजतातर्फ जान्छ”, उहाँले भन्नुभयो, “कोभिड महामारी पछि पुनरुत्थानका लागि खुकुलो बनाइएको नीति बाह्य क्षेत्रमा समस्या देखिएपछि एकाएक कडाइ गरियो । त्यसको कडाइको प्रभाव अहिले पनि देखिरहेको छ ।”

वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रका मुख्य दुई उपकरण रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकले स्वायत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्र सुधारका लागि पहल गरोस् भन्ने चाहना रहेको उहाँको भनाइ थियो ।

“वित्त नीतिले एउटा र मौद्रिक नीतिले अर्को बाटो समत्यो भने हाम्रा लक्ष्य पूरा हुन सक्दैनन, अर्थमन्त्री महतले भन्नुभयो, “पदको दुरुपयोग मन्त्रालय वा राष्ट्र बैंक दुवैको नेतृत्वबाट हुन सक्छ । राष्ट्र बैंक स्वायत्त भनेर संवैधानिक आयोग जस्तो बनाएर जानुपर्छ भन्ने पनि हुँदैन । अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिनुपर्छ ।”

सरकारले वित्त नीतिमा अर्थतन्त्र सुधारका महत्वपूर्ण कार्यक्रम राखेको अर्थमन्त्री महतले बताउनुभयो । अहिले लागत महँगो हुँदा पुँजी प्रवाह हुन नसकेको र यसले समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उहाँको भनाइ थियो ।

आर्थिक अनुशासन पालना सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सरकारले अहिले अनावश्यक रकमान्तर रोकेको जानकारी दिनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा हुनेमा आफू आशावादी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले अर्थतन्त्रमा अहिले देखिएका समस्याको शीघ्र पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । “नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा जाँदैछ, त्यसलाई कसरी पुनरुत्थान गर्ने भन्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “हाम्रा नीति वा नियत केमा समस्या हो पहिचान गर्न आवश्यक छ ।”

आर्थिक छलफल चौतारी नेपालका अध्यक्षसमेत रहनुभएका सांसद चौधरीले अर्थतन्त्र सुधारका लागि कुन ठाउँमा समस्या छ र कसरी सुधार गर्ने भनेर पहिचान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि लिइएका सुझाव नेपाल राष्ट्र बैंकलाई दिने जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon