Share Icon

२० असार,रसुवा । चालु आवको हालसम्म जिल्लामा चौधवटा जमिनको कित्ताकाट भएको छ । भू– उपयोग नीति २०७९ लागू भएसँगै स्थानीय सरकारले गर्नुपर्ने वर्गिकरणका काम अगाडि बढ्न नसक्दा कित्ताकाटमा कमी आएको हो ।

नापी कार्यालयका सूचना अधिकारी शेरबहादुर बुढाथोकीकाअनुसार चालु आर्थिक वर्षमा जलविद्युत् आयोजनाले प्राप्त गरेका १४ वटा जग्गाको मात्र कित्ताकाट भएको हो । जलविद्युत् आयोजनाले प्राप्त गर्ने जग्गाको हकमा भने कित्ताकाट गर्न सरकारले पुरानै नीतिमा छुट दिइरहेको बताइएको छ ।

कित्ताकाटबाट उक्त कार्यालयले चालु आवको हालसम्म कूल रू एक लाख ७२ हजार पाँच सय ५२ राजस्व आर्जन गरेको छ । जिल्लाका पाँच गाउँपालिकामध्ये कुनैपनि पालिकाले मापदण्ड अनुरूपको वर्गिकरण गर्न नसक्दा कित्ताकाट रोकिएपछि राजस्व असुलीमासमेत बाधा पुगेको छ । उक्त कार्यालयबाट चालु आवमा कूल छ सय ९४ जनाले जग्गाको नक्सा प्रिन्ट लिएका छन् ।

छजना जग्गाधनीले भने आफ्ना प्रमाणका जग्गा नापी अमिनीबाट स्थलगत परीक्षण गराएको नापीका सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । नक्सा प्राप्तिको साथै परामर्शसमेत एक वर्षको अवधिमा करिब एक हजार पाँच सय सेवाग्राहीले सेवा लिएको बताइएको छ ।

यस्तै मालपोत कार्यालयबाट चालू आवको साउनदेखि हालसम्म २५ थान मरूवा नामसारी हुनाको साथै छ सय पचास लिखत पारित भएको र तीमध्ये तीन सय ३५ थान बंैक तथा वित्तीय संस्थाको घितो बन्धकका लिखत रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो । वर्ष दिनमा समग्रमा दुई हजार सेवाग्राहीले सेवा लिएको मालपोत कार्यालयले जनाएको छ ।

चालु आवको साउनदेखि हालसम्म मालपोतले राजस्वस्वरुप रू ६२ लाख ८६ हजार नौ सय ८९ असुल गरेको त्यहाँका कर्मचारी छेक्याल तामाङले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा भने रू एक करोड २७ लाख ६१ हजार आठ सय ७१ राजस्वअसूली भएको अभिलेखमा उल्लेख छ ।

Facebook Comments Box

Share Icon