पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

Share Icon

१७ असार,काठमाडौँ । पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा जारी पुस्तक प्रदर्शनीमा इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी बिक्री भएका हुन् । प्रदर्शनीमा प्रतिष्ठान र साझा प्रकाशनद्वारा प्रकाशित पुस्तक राखिएको छ ।

प्रदर्शनीमा इतिहाससम्बन्धी ‘सिञ्जाको ऐतिहासिक रुपरेखा’, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सत्यमोहन जोशीको ‘नेपाली चाडपर्व’, एसपी आशाको ऐतिहासिक उपन्यास ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, प्रा नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासलगायत पुस्तक बढी बिक्री भएको साझा प्रकाशनका प्रदर्शनी संयोजक पुण्य बखरेलले राससलाई जानकारी दिनुभयो ।

प्रदर्शनीमा रु एकदेखि रु तीन हजार पाँच सयसम्मका पुस्तक राखिएको छ । रु एक मूल्य पर्ने ‘हबल्दार देवीप्रसाद’ र ‘भीमसेनपाती’, रु तीन हजार पाँच सय मूल्यपर्ने प्रज्ञा नेपाली वृहत् शब्दकोश पुस्तक प्रदर्शनीमा राखिएको हो । सांस्कृतिक संस्थानले प्रकाशन गरेको नेपाली संस्कृति पुस्तिका पनि रु तीनमै पाइन्छ । यसलाई पनि पाठकले मन पराएका छन् । यसका विभिन्न अङ्क साझा प्रकाशनको प्रदर्शनी कक्षमा राखिएको छ ।

पुरातत्व विभागले प्रकाशन गर्ने प्राचीन नेपालका विभिन्न अङ्क पनि प्रदर्शनीमा पाउन सकिन्छ । साझाको प्रदर्शनी कक्षमा चार सय ९२ थरिका पुस्तक राखिएको र
दैनिक कम्तीमा पनि रु बीस हजार बराबरको पुस्तक बिक्री हुने गरेको उहाँले बताउनुभयो । प्रतिष्ठानको बिक्री कक्षमा पनि दैनिक कम्तीमा रु ३० हजारसम्मका पुस्तक बिक्री हुने गरेको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानले करिब ६०० थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखेको छ । साझाले २५ देखि ३० प्रतिशत र प्रतिष्ठानले १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिरहेका छन् । प्रदर्शनी यही असार २३ गतेसम्म सञ्चालन गरिने छ । पाठकको रुचि बढेमा समय लम्ब्याउन सकिने पनि जनाइएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.