पुख्र्यौली पेसा छोड्दैछन् गन्धर्व

Share Icon

२३ जेठ ,दाङ  । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु अहिले पुख्र्यौली पेसा छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य भएका छन् ।

आधुनिक गीत, सङ्गीत एवम् प्रविधिको विकासका साथै समाजमा आफूहरूमाथि हुने हेयको दृष्टिकोणका कारण पुख्र्यौली पेसा छोडेर अरू पेसा अँगाल्न बाध्य भएको उनीहरु बताउँछन् ।

गन्धर्व समुदायको मुख्य बस्ती रहेको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरको गणेश टोलमा अहिले न्यून सङ्ख्यामा गन्धर्वहरु सारङ्गी बोकेर गीत गाउन हिँड्ने गरेका छन् । त्यो पनि चाडपर्वको समयमा मात्र ।

उक्त टोलमा बस्ने ७१ वर्षीय दिले गन्धर्व भन्नुहुन्छ, “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि बेवास्ता गर्ने गरेकाले गाउने पेसाबाट खानलाउन नपुग्ने अवस्था आएको हो ।” बीस वर्ष पहिलेदेखि जिल्लाका ग्रामीण क्षेत्र एवम् तुलसीपुर, घोराही, लमहीका बजार क्षेत्रमा गीत गाउँदै हिँड्नुभएका उहाँका अनुसार ५० घरधुरीमा चार सय गन्धर्व रहेको यस टोलमा अहिले दस जनाले मात्र यो पेसा अँगालेका छन् । आफूहरू पनि कुनै काम नपाएको बेलामा मात्र गाउँदै हिँड्छौँ । हातमुख जोड्न साह्रै मुस्किल परेकाले यो पेसा नै गर्न नपरोस् भन्ने सोच छ ।

अहिलेको पुस्ताले गायन पेसाप्रति देखाएको उदासीनताले आफ्नो जातीय अस्तित्व नै मेटिनसक्ने चिन्ता उक्त टोलका शालिकराम गन्धर्वलाई छ । “पहिलेका घर मालिकले प्रशस्त अन्न दिन्थे । त्यहीँबाट घरपरिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारङ्गी बोकेर गाउँदै हिँड्दा धेरैले अपशब्द प्रयोग गर्छन् । अल्छी भनेर गाली पनि गर्छन् त्यो जवाफले त सरम पनि लाग्छ”, उहाँ भन्न्नुहुन्छ ।

आफ्ना युवा पुस्तालाई आर्थिकरूपमा सक्षम बनाए मात्र संस्कृति र जातीय पहिचान जोगाउन पुख्र्यौली पेसा अँगाल्न सकिने शालिकरामको भनाइ छ । आफ्ना पुर्खाहरु सल्यानको हिउल्चाबाट दाङमा आएको बताउनुहुने सोही टोलका टेकबहादुर गन्धर्व हात मुख जोर्न मुस्किल भएपछि पलायन भएका गन्धर्वहरु हाल दाङको तुलसीपुर, पातेटाकुरा, एकलीलगायत स्थानमा बसी ज्याला मजदुरी र माछा मार्ने गरेर जीविका चलाउँदै आएका छन् ।

स्थानीयवासी टेकबहादुर गन्धर्व पनि पहिले मानामुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानसम्म पुग्ने गरिएकामा अहिले यो पेसाबाट घरपरिवार पाल्न नसकेपछि हाल तुलसीपुरमा ज्याला मजदुरी गर्दै परिवार पाल्ने गरेको गरेको बताउनुहुन्छ । सल्यान हिउल्चा घर भएका महेन्द्र गन्धर्व भन्नुहुन्छ, “गाइनेहरुले हिजोआज गायकगायिकाका गीतहरु मात्र सुनाउने तर खासै मेहनत नगरेका कारण पनि परम्परागत शैली हराइसकेको छ, कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने ‘कर्खा भाका’ अहिले सबैलाई गाउन नै आउँदैन ।

लोकप्रिय ‘कर्खा भाका’ हराउन लागेकामा गायक सुशील गन्धर्व भन्नुहुन्छ, “गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले नेपाली संस्कृतिको एउटा अध्याय नै मेटिन लागेकोे छ । हरेक चुनावमा हामीलाई भोट बैकका रुपमा मात्र प्रयोग गरिन्छ ।”

लोपोन्मुख यो संस्कृतिको जगेर्नाका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र उक्त समुदायका युवालाई रोजगारी तथा आयआर्जनका काममा लगाउन राज्यले उचित नीति बनाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

समाजमा भएका राम्रा, नराम्रा घटनालाई गीत बनाएर सुसेल्ने गन्धर्वको पेसा हराउँदै जानु नेपाली संस्कृतिका लागि दुर्भाग्य हुने प्राध्यापक कमला चापागाईं बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समाजमा भएका विकृतिलाई सारङ्गीको मीठो धून अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेसालाई संरक्षण गर्न सबैले पहल गर्नुपर्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.