बागी उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश १ को निर्देशन

Share Icon

इटहरी । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेदवारविरुद्व बागी उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले आइतबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्। उनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्।

‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उक्त उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेदवारलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यहोरा जानकारी गराउँदछौँ।’

उनले अहिलेको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरेका छन्।

‘नेपाली राजनीतिमा अहिले देखा परिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गरी, वैज्ञानिक समाजवाद स्थापनार्थ समृद्ध मुलुक निर्माण गरी देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन पुनः वाम र लोकतान्त्रिक शक्तिबीच सहकार्यको आवश्यकता रहेकोले वाम लोकतान्त्रिक गठबन्धन निर्माण गरी हामी निर्वाचनमा होमिएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यही मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा मनोनयन दर्ता गर्नुभएका गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा एक ढिक्का भई सामेल हुन हाम्रो पार्टीका सम्पूर्ण नेताकार्यकर्ता, सदस्य, समर्थक र आम शुभचिन्तकहरुमा अनुरोध गर्दछौँ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.