हात्ती र पशुको त्रासले आलुखेती

Share Icon

१० पाैष, टीकापुर । कैलालीको टीकापुर–८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ ।

श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् । किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले त्यहाँका किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । त्यसका साथै व्यक्तिगतरूपमा खेती गर्नेका लागिसमेत सहयोग गरेको छ ।

सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइको सहयोगपछि स्थानीय किसान मिलेर खेती गरेका हुन् । “श्रीलङ्कामा हात्तीको आतङ्क बढी हुने, छाडा पशुले बाली नोक्सान गर्ने र यहाँको माटो बलौटे भएकाले आलुखेतीको ब्लक स्थापाना गरी खेती गरिरहेका छौँ”, किसान धनसिंह साउदले भन्नुभयो, “यहाँ अधिकांशले उखुखेती गर्ने गरेका थिए । उखुखेतीलाई हात्तीले बढी नोक्सान गर्ने गरेका छ । त्यसैले यसपटक हामीले आलुखेती गरेका हौँ ।”

साउदले आलुखेती छिटो उत्पादन लिन सकिने र जनावरले कम नोक्सान गर्ने बताउनुभयो । “हामीले आलुखेती बीउ उत्पादनका लागि गरेका छौँ, तरकारीका लागि व्यक्तिगतरूपमा पनि खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “सिँचाइ आयोजनाले कृषकको समूहलाई आलुखेतीका लागि मेसिन, बीउ र प्रविधिलगायतमा सघाउन रु २० लाख सघाएको छ ।”

सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ । आयोजनाले यस वर्ष आलुखेती विस्तार र आलुको ब्लक स्थापनाका लागि किसानको मागका आधारमा सघाएको हो । आयोजनाले ४४ हेक्टरमा दुईवटा ब्लकमा ब्लक खेती गरेको हो ।

आयोजनाले टीकापुर–३ स्थित रामपुर कटानपुर र टीकापुर–८ श्रीलङ्कामा आलुको ब्लक स्थापनामा किसानलाई सघाएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले आलुखेती विस्तारअन्तर्गत दुई सय ११ जना किसान छनोट गरी ५० हेक्टर क्षेत्रफलमा आलु विस्तारका लागि सघाएको बाली विकास अधिकृत जय महतराले बताउनुभयो । “हामीले सूचना गरेका थियौँ, सूचनामा माग गरेका किसानले यो सुविधा पाएका हुन्”, उहाँ भन्नुहुन्छ, “हामीले प्रविधि, सिँचाइ, मल, बीउ, विषादी र सुक्ष्म तत्वजस्ता सहयोग गर्छौँ । यसले किसानलाई कृषितर्फ आकर्षित गर्छ ।”

कृषितर्फ कार्यान्वयन एकाइले आलुखेतीलाई बढावा दिँदै यहाँ फलेको आलु शीतभण्डारमा भण्डारण गरेमा यहाँ आलुको आयात घटाउने लक्ष्य लिएको बाली विकास अधिकृत महतरा बताउनुहुन्छ । आयोजनाको सहयोगमा यहाँका दुई सय ११ किसानले व्यावसायिक खेती गरिरहेका छन् । आयोजनाले यसका साथै धान बाली, गहुँ बाली, तरकारी खेती तथा फलफूल खेतीमा समेत किसानलाई सघाउँदै आएको छ । आयोजनाले किसानलाई कृषि औजार वितरणकार्यसमेत हरेक वर्ष गर्दै आएको छ ।

आयोजनाको सहयोगमा यहाँका अधिकांश किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आयोजनाले खेतीमा लगानीसँगै किसानको खेती र उत्पादनको पनि नियमित अनुगमन गर्न आवश्यक रहेको किसान अगुवा रामफल चौधरी बताउनुहुन्छ । “आयोजनाको सहयोगमा खेती गरिरहेका र आयोजनाबाट पटक–पटक लाभ लिएका किसानको खेतीको अवस्था नियमित अनुगमन गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “आयोजनाबाट सहयोग तथा अनुदान पाउनेमा सधैँभरि एउटै किसान छनोट कार्यसमेत अन्त्य गर्नुपर्छ । नयाँ किसानलाई कृषिमा आकर्षित गराउने खालका कार्यक्रम पनि ल्याउनुपर्छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.